सत्ताका लागि केपी र शेरबहादुरको यस्तो दौड

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते २:१४ मा प्रकाशित

KP Oliकाठमाण्डु, १९ मंसिर– नयाँ सत्तासमीकरणको बहससँगै भावी प्रधानमन्त्रीका लागि भित्र–भित्र ठूलाठूला खेलहरु भएका छन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँगको उठबस, आर्थिक साधनस्रोतको खोजीमा भावी प्रधानमन्त्रीका उम्मेदवार लागेका छन् ।

उच्चसूत्रहरूले जनाएअनुसार भावी प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडि अहिले एमाले अध्यक्ष केपी ओली र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा छन् ।
सिंगापुर पुगेर भारतीय कर्मचारीतन्त्रसँग भेट गरेर आएका ओलीले भावी प्रधानमन्त्री आफू नै भएको भन्दै पार्टीभित्र कोर टीममा ब्रिफिङ गरेका छन् ।

उता केही दिन अगाडि दिल्ली पुगेर फर्केका देउवाले पनि एमाले र एकीकृत माओवादीकै नेताहरूसँग भेट गरेर नयाँ सत्तासमीकरणमा आफू लागेको र यसका लागि सहयोग पुर्यामउन आग्रह गरेका छन् ।
ओलीले भने एकीकृत माओवादी र मधेसी दललाई साथ लिएर नयाँ समीकरणको जोडघटाउ सुरु गरेका छन् ।

८ माघमा संविधान आए कांग्रेसकै सहयोगमा प्रधानमन्त्री बन्ने ओलीको सोच छ भने संविधान नआए विपक्षी पार्टीहरूसँगको सहकार्यमा नयाँ समीकरणको नेतृत्व गर्ने योजना बनाएका छन् ।

स्रोतका अनुसार यसका लागि ओलीले प्रचण्ड, विजय गच्छदारदेखि राजेन्द्र महतोसम्मलाई भेटेर भावी समीकरणबारे छलफल गरेका छन् । ८ माघमा संविधान आउने सम्भावना कम भएपछि ओलीले दोस्रो समीकरणमा बढी चासो राखेका छन् ।

तर, भारतीय संस्थापनपक्षको सहयोग आफूलाई रहेको तथा संघीयता र आफ्नै पार्टीका नेता खुमबहादुर खड्काले उठाएको धार्मिक नारा पनि सम्बोधन गर्न सक्ने व्यक्ति आफू भएको भन्दै देउवाले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई अगाडि सारेका छन् ।

sher bahadur१७ पटक चुनाव हारेका कांग्रेस उपसभापति रामचन्द्र पौडल यसपालि पनि प्रधानमन्त्रीको रेसबाट बाहिरिएका छन् । उता ओलीलाई प्रधानमन्त्री नबनाउने खेलमा एमालेकै वरिष्ठ नेता माधव नेपाल लागिसकेका छन् ।
कांग्रेसका अमरेश सिंहले अन्तर्वार्ता नै दिएर ओलीलाई प्रधानमन्त्री बनाउन नसकिने बताएका छन् । कांग्रेस एमाले वृत्तमा यो सरकारले सार्क सम्मेलन पूरा गर्न सकेको र यसबाट थप उपलब्धि नहुने निष्कर्ष निकालिएको छ ।

सत्ता समीकरणबारे एमालेले मधेसी मोर्चासँगको कुराकानीमा विषय प्रवेश गराएपछि प्रधानमन्त्री सुशील कोइराला भने असन्तुष्ट छन् ।

कांग्रेस नेतृत्वको सरकार जतिबेला पनि ढाल्ने संकेत पाएपछि प्रधानमन्त्री कोइरालाले अहिले आफूलाई धोका हुन लागेको भन्दै बालुवाटारमा गुनासो गर्न थालेका छन् ।
एमालेले संविधान निर्माणमा सहज गराउन राष्ट्रिय सहमतिको सरकारको कुरा गरे पनि यसका पछाडि ओलीलाई प्रधानमन्त्री बनाउने खेल रहेको बुझिएको छ ।
सूत्रहरूका अनुसार भारतीय संस्थापनपक्षले ओली र देउवालाई एकैपटक उचालेर नेपालको राजनीतिमा फेरि खेल्न थालेको राजनीतिक वृत्तमा चर्चा छ ।

सार्क सम्मेलनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकारले देउवालाई भेटेर टिप्स दिएका थिए ।

सत्तारुढ दलहरूका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मधेसी मोर्चामा आबद्ध दलहरूसित राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गरेका थिए ।
जनआह्वान साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us