काठमाण्डु, १८ मंसिर– सुदूरपश्चिमका मुगु र हुम्लामा केही महिलाहरुले काठमाण्डु आएर गाउँमा स्वास्थ्य शिवर लगिदिन स्वास्थ्यमन्त्री र सभासदहरुलाई आग्रह गरेका छन् ।
त्यहाँका करिब आधा दर्जन अगुवा महिला स्वास्थ्य शिविर माग गर्दै काठमाण्डु आइपुगेका हुन् ।
सानैमा बिहे हुने, वर्षेनि बच्चा जन्माउनुपर्ने, परिवार नियोजनको पहुँच नहुने र उपचार नपाउने गरिएको भन्दै उनीहरुले स्वास्थ्यमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराएका छन् । ‘हामीले हरेक वर्ष बच्चा पाउनुपर्छ, बालखकालमै बच्चा पाएपछि आङ खस्छ ।
परिवार नियोजन गर्न पाइँदैन । हामी मर्नु न बाँच्नुको अवस्थामा छौं’, काठमाण्डु आइपुगेकी मुगुकी हाजिरा कार्कीले मन्त्री अधिकारीलाई भनिन्, ‘हामीजस्तै महिला दिदीबहिनीहरुका लागि स्वास्थ्य शिविर लगिदिनुपर्यो ।’
उनले आफूहरुका दु:खका दिन कहिले जाने हो भन्ने प्रश्न गरिन् । ‘दिदीबनिहीका दु:खका दिन कहिले जान्या हो’ उनले भनिन्, ‘केही निसाफ पाउछौं कि भनिकिन यहाँ आया हौं ।’
उनीहरुले आङ खस्ने, तल्लो पेट दुल्ने जस्ता रोगको उपचार नपाउँदा कतिपय महिलाको अकालमै ज्यान गइरहेको मन्त्री मन्त्री अधिकारीको ध्यानाकर्षण गराए ।
जवाफमा मन्त्री अधिकारीले ती क्षेत्रमा छिट्टै स्वास्थ्य शिवर सञ्चालन गर्ने बचन दिएका छन् ।