विप्लवको ‘हेर्डक्वाटर’ मा खड्गबहादुरविरुद्ध उजुरीको चाङ

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ११:५३ मा प्रकाशित

biplavकाठमाण्डु, १८ मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट भर्खरै विद्रोह गरेर नेकपा माओवादी नामको नयाँ पार्टी खोलेका नेक्रविक्रम चन्द ‘विप्लव’ लाई मानिसहरुले के सुझाव दिँदा हुन् ?

तपाईं ठान्नुहोला- ‘युद्धमा नजानुस्, जनताको समर्थन जित्न गाह्रो छ ।’ वा ‘छिटो युद्धमा जानुपर्यो, किनभने मुलुकमा प्रतिक्रान्ति भइसक्यो । अब पनि ढिला गरियो भने इतिहासले छुट दिँदैन ।’ तपाईं ठान्नुहोला- यस्तैयस्तै सुझाव विप्लवलाई आउने गरेको छ । त्यसो हो भने तपाईं पूरै गलत !

स्रोतका अनुसार पार्टीभित्र वा बाहिरका उनका शुभचिन्तकहरु विप्लवले एकजना नेतालाई आफ्नो हर्ताकर्ता बनाएकामा असन्तुष्ट छन् । ती हुन् खड्गबहादुर विक ‘प्रकाण्ड’ ।

विप्लवलाई उनको केन्द्रीय समितिका सदस्यदेखि जिल्ला तहका कार्यकर्ताले मात्र होइन माउ पार्टी नेकपा–माओवादीका नेता कार्यकर्ताले समेत विकसँग सचेत रहन आग्रह गर्ने गरेकाे स्रोतले बतायो ।

उनीहरुले विकलाई निश्चित दूरीमा राखेर काम लगाउन र सकेसम्म जनतासँग प्रत्यक्ष सरोकार राख्ने सांगठनिक जिम्मेवारी नदिने भन्ने गरेका माओवादी स्रोतले बतायो ।

विकले मन्त्री भएका बेला पदीय हैसियत दुरुपयोग गरी अकुत सम्पत्ति जोहो गरेको र अहिले पनि ‘क्रान्ति’ का नाममा ‘चन्दा’ उद्योग चलाउनेतर्फ ‘विप्लव’को सबैले ध्यानाकर्षण गराउने गरेका छन् । उनीमाथि वैद्य नेतृत्वको माओवादीमै हुँदादेखि ‘पैसाको लोभी’ भन्ने आरोप लाग्दै आएको बताइन्छ ।

विकको साटो ‘स्वच्छ छवि’ का अर्का नेता धर्मेन्द्र बास्तोलालाई अघि बढाउन उनीहरुले सुझाव दिएको स्रोतले बतायो । विप्लवले विकलाई प्रवक्ताको जिम्मेवारी दिएका छन् भने बाँस्तोलालाई तत्कालका लागि अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको छ ।

एकीकृत माओवादीमै हुँदा बाँस्तोलासँग लामो समय अन्तर्राष्ट्रिय विभाग सम्हालेको अनुभव छ । मृदुभाषी र सरल यी नेता माओवादीले जनयुद्ध सुरु गर्नुअघि युरोपको पीआर त्यागेर नेपाल आएका थिए । विक  माओवादी सरकारको पालामा महिला बालबालिका तथा समाजकल्ण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।

नेताहरुको व्यक्तित्वको टकराव वा आलोचना प्रतिआलोचना पार्टी गठनसँगै नयाँ माओवादीमा पनि सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us