
काठमाण्डु, १८ मंसिर– सिचुआन एयरलाइन्सले आउँदो पुसदेखि चेङुबाट ल्हासा हुँदै काठमाडौं दैनिक उडान गर्ने भएको छ । यससँगै नेपालमा सेवा दिने चिनियाँ विमान कम्पनी ४ वटा पुग्नेछ ।
सिचुआनले सन् १९८६ देखि चीनबाट क्षेत्रीय उडान गर्दै आएको छ । यो चीनमा विस्तार हुँदै गएको एयरलाइन्स मानिन्छ । यसले सन् २०१४ मा एसियाको उत्कृष्ट क्षेत्रीय एयरलाइन्सको अवार्ड हात पारेको थियो । यसका चेङु, चोङकङ र कुन्मिङ हबका रूपमा रहेका छन् । यसले सन् २००७ देखि सिडनी, होचिमिन्ह सिटी, हङकङ, जकार्ता, फुकेट, सियोल, ताइचुङ, ताइपेईलगायत अन्तर्राष्ट्रिय रुटमा उडान गर्दै आएको छ ।
यसले हरेक साता करिब ११ हजार ६ सय सिट उपलब्ध गराउँछ । कम्पनीले युरोप र उत्तर अमेरिकाका गन्तव्यमा सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ । यस एयरलाइन्ससँग एयरबस ए ३१९, ए ३२०, ए ३२१ र ए ३३० गरी ९३ एयरक्राफ्ट छन् । एयरलाइन्सले आफ्ना लागि काठमाडौं गतिशील गन्तव्य भएको भन्दै नेपालको पर्यटन र व्यावसायिक राजधानी चिनियाँ पर्यटकका लागि चाहनाको गन्तव्य बताएको छ । सोसाइटी ट्राभल्सलाई सिचुआन एयरलाइन्सले जीएसए नियुक्त गरेको छ । नेपाल-चीनबीच भएको हवाई सम्झौताअनुसार दुई देशमा साताको ५६ उडानसम्म गर्न सकिनेछ । हाल चाइना एयर, चाइना सदर्न र इस्टर्नले सेवा दिइरहेका छन् ।
हिमायलन एयरले मार्चसम्ममा ल्हासा उडान थाल्ने गरी टिबेट एयरलाइन्ससँग सम्झौता गरेको छ । हिमालयन एयरलाइन्स नेपाली लगानीकर्ता र टिबेट एयरलाइन्सको संयुक्त लगानीमा स्थापित भएको हो । चिनियाँ पर्यटकको आगमन बढ्दै गएकाले विमान कम्पनीको रुचि पनि बढ्न थालेको हो ।
भारतपछि सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल घुम्न आउने गरेका छन् । गत वर्षदेखि चिनियाँ पर्यटकको संख्या एक लाख नाघेको छ ।