
काठमाण्डु, १८ मंसिर– संविधानसभामा पठाउने प्रतिवेदनबारे छलफल गर्न बालुवाटारमा बिहीबार बिहान बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई झापा गएका छन् ।
दमकमा हुने भट्टराईहरुको कुल पूजामा सहभागी हुन भट्टराई त्यता गएका हुन् ।
प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बुधबारको बैठकले भट्टराईलाई पार्टी सोचबाट माथि उठेर स्वविवेक प्रयोग गरी संविधानसभामा प्रतिवेदन पठाउने जिम्मेवारी दिएको थियो ।
भट्टराईले दलहरुबीचको सहमति खल्बलिन नदिन सचेत रहेको भन्दै आफू नियमावली र दलीय सहमतिका आधारमा अघि बढ्ने बताएका छन् ।
भट्टराईकै पहलमा सभाध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा तीन दलका शीर्ष नेताको बैठक बसेको थियो ।
तर छलफल निर्णयमा नपुग्दै एमाले अध्यक्ष केपी ओली र सभाध्यक्ष नेम्वाङ इलाम जानु छ भन्दै हिंडेपछि भट्टराई पनि कुलपूजातिर लागेका हुन् ।