काठमाण्डुका घरभेटीले दिएनन् विप्लवलाई पार्टी कार्यालय

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ६:३६ मा प्रकाशित

_MG_0169 काठमाण्डु, १८ मंसिर– सशस्त्र युद्धको तयारी गरिरहेको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा हालै गठित नेकपा माओवादीले काठमाण्डुमा कार्यालयका लागि घर भाडामा नपाएपछि सो पार्टीका नेता कार्यकर्ता हैरान भएका छन् ।

स्रोतका अनुसार कार्यालयका लागि बुद्धनगर, बानेश्वर, कोटेश्वर र सानेपा क्षेत्रका घर खोजी भइरहेको छ । तर घर भाडामा खोज्न आउने विप्लवका कार्यकर्ता भन्ने चाल पाएपछि काठमाण्डुका घरभेटी डराएर कसैले पनि घर दिन चाहेका छैनन् ।

श्रोतका अनुसार विप्लवले काठमाण्डुमा पार्टीको केन्द्रीय कार्यालय नराख्ने भएका छन् । त्यसको सट्टा सम्पर्क कार्यालय मात्र राखेर काम चलाउने तयारी छ ।

पश्मिच चितवनमा गत साता बसेको केन्द्रीय समिति बैठकले तत्काल काठमाण्डुमा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको थियो ।

नवगठित नेकपा माओवादीका केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’ ले घुमाउरो शैलीमा घर नपाएको स्वीकार गरे । ‘सम्पर्क कार्यालयका लागि ठाउँ खोजी भइरहेको छ’, मल्लले काठमाण्डु टुडेसँग भने, ‘तर भनेजस्तो ठाउा फेला परेको छैन ।’

उनले घरभेटी डराएर कोठा भाडामा नदिएको हो कि भन्ने प्रश्नको प्रतिवाद गरे । ‘हामीले अहिल्यै बन्दुक उठाइसकेको जसरी जुन तरिकाले प्रोपोगाण्डा मच्चाएर जनता आतंकित पार्न खोजिएको छ, कुरा त्यस्तो होइन’, मल्ल भन्छन् ।

मल्लले यसअघि मोहन वैद्य नेतृत्वमा एमाओवादीबाट अलग भएपछि जस्तो पेरिसडाँडासहित देशभरका पार्टी कार्यालय आधा पाउनुपर्ने दाबी आफूहरुले यसपटक नगर्ने पनि प्रष्ट्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us