
कञ्चनपुर, १८ मंसिर– उद्योग मन्त्री महेश बस्नेतले सुदूरपश्चिम पुगेर पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन् । केही दिनदेखि सुदूरपश्चिमका विभिन्न ठाउँमा घुमिरहेका मन्त्री बस्नेतले पर्यटकीय क्षेत्रको संरक्षण सम्र्बद्धन र पूर्वाधार विकास गर्न सरकारले जोड दिने वाचा समेत गरे ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–८ भम्केनीमा सञ्चालन भइरहेको राष्ट्र शान्ति श्रीमद् गोपाल महायज्ञमा आज बिहान सहभागी हुन आएका मन्त्री बस्नेतले सुदूरपश्चिम क्षेत्रमा पर्यटनको सम्भावना प्रचुर भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ती सम्पदा ओझेलमा पर्दै गएकाले पर्यटन क्षेत्रको विकासका लागि कटिबद्ध रहेको उल्लेख गरे ।
देशकै चौथो धामका रुपमा भम्केनी क्षेत्रलाई विकसित गर्नका लागि आयोजना गरिएको महायज्ञले पर्यटन विकासमा योगदान पुर्याउने उनले बताए ।
सभासद् कृपाराम रानाले सुदूरपश्चिम धार्मिक, सांस्कृतिक र दर्शनीयस्थलका हिसाबले धनी भए पनि पूर्वाधार विकासमा सरकारले जोड नदिँदा अगाडि बढ्न नसकेको जिकिर गरे ।