बेलुका रक्सी पिएर हिंडेको, बिहान मुर्दा !

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ५:४७ मा प्रकाशित

गौशाला, १८ मंसिर– बेलुका रक्सी पिएर बासस्थानतिर हिंडेका एक युवक बिहान मृत भेटिएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ धबौलीमा आज बिहान ती युवकको लास प्रहरीले बरामद गरेको छ ।
उक्त लास जिल्लाको सीतापुर भङ्गहा गाविस–१ घर भई हाल जलेश्वर–६ धबौलीस्थित ससुराली गाउँमा बस्दै आएका ३५ वर्षीय सुनिल मण्डलको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति अत्यधिक मदिरा सेवन गरेर घर गइरहेको क्रममा जलेश्वरस्थित परिक्रमा गाछीनजिकै रहेको खाल्डोको पानीमा डुबेर निजको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

स्थानीयहरूले निजलाई आज बिहान मृत अवस्थामा खाल्डोमा देखेपछि निजको परिवारजनलाई खबर गरेको निजको ससुरा सुरेश मण्डलले बताए ।
मण्डलको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us