केशरसिंह र कमल अवैध हतियारसहित पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते १५:५५ मा प्रकाशित

कास्की, १७ मंसिर– कास्की प्रहरीले अवैध हतियारसहित सर्लाही शासापुर–५ का केशरसिंह हेमजन र कास्की दाङसिङ–२ वीरेठाँटीका कमल गुरुङलाई पस्र्याङ–५ बाट हतियारसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुको साथमा रहेको रिवल्भर एक थान र गोली दुई थान नियन्त्रणमा लिएको जनाएको छ ।
अवैध हातहतियार खरिद बिक्री तथा ओसारपसार गर्ने विशेष सूचनाको आधारमा हेमजन र गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
शंकास्पद अवस्थामा नियन्त्रणमा लिई तलासी गर्दा उनीहरुको साथबाट हतियार र गोली फेला परेको हो । दुवैलाई  थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us