सार्कमा भुटान सदाचारी, अफगानिस्तान भ्रष्टाचारी !

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान रहेको छ । यो तथ्य सार्वजनिक गरेको हो ट्रान्सपरेन्सी इन्टरनेसन नामक संस्थाले ।

18th SAARC Summit Kicks Off
विश्वव्यापीरुपमा भ्रष्टाचार बढ्दै गएको र नेपालमा पनि विगतको वर्षको तुलनामा भ्रष्टाचारले प्रश्रय पाएको बताइएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज विश्वभर एकैपटक प्रकाशित गरेको प्रतिवेदनले विश्वमा भ्रष्टाचार बढ्दै गएको देखाएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपिआइ) २०१४ ले विश्वभर व्यावसायिक गोपनीयता र गैरकानुनी सम्पत्ति शुद्धीकरणको स्थितिले विकासोन्मुख अर्थतन्त्रलाई भ्रष्टाचारविरुद्ध लड्न गाह्रो भएको देखाएको छ ।

प्रतिवेदनले गत वर्षको तुलनामा नेपाल दुई अङ्क तल झरेको देखाएको छ । नेपालले कुल १०० अङ्कमा २९ मात्र पाएको छ । गत वर्ष नेपालले ३१ अङ्क प्राप्त गरेको थियो ।

भ्रष्टाचार कम हुने देशको सूचीमा ९२ अङ्कका साथ डेनमार्क पहिलो स्थानमा छ भने सबैभन्दा मात्र आठ अङ्कका साथ सबैभन्दा तल सोमालिया र उत्तर कोरिया छन् ।

यस वर्षको सूचीमा कुल १७५ राष्ट्रमध्येमा दुई तिहाईभन्दा बढी मुलुकले सिपिआइमा ५० भन्दा कम अङ्क पाएका छन् । विश्वव्यापी अवधारणाअनुसार ५० भन्दा कम अङ्क ल्याउने देशलाई भ्रष्टाचारजन्य देशको रुपमा मानिन्छ ।

एक वर्षभित्र बर्टेल्सम्यान फाउन्डेसन, विश्व बैंक, विश्व आर्थिक मञ्च, ग्लोबल जस्टिस प्रोजेक्ट र ग्लोबल इन्साइट संस्थाद्वारा गरिएको सर्वेक्षणमा नेपालले उक्त अङ्क पाएको जनाइएको छ ।

नेपालले सन् २००४ देखि सिपिआइमा समावेस हुँदै आएको भएपनि यसमा उल्लेख्य सुधार गर्न सकेको छैन ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष भरतबहादुर थापाले सार्वजनिक पद दुरुपयोग गर्नेमाथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शीता, जवाफदेहिता, व्यावसायिक तथा सार्वजनिक कार्यमा दिनुपर्ने घुसजस्ता विषयको आधारमा अध्ययन गरिएको बताए ।
उनले विगतको तुलनामा नेपालमा भ्रष्टाचार बढेको देखाएकाले विगतबाट सुधारिनेभन्दा पनि भ्रष्टाचारजन्य कार्यलाई प्रश्रय दिएको पाइएको उल्लेख गर्दै यो चुनौतीपूर्ण अवस्था भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us