काठमाण्डु, १७ मंसिर– नेकपा एमालेले नवौं महाधिवेशन सकिएको छ महिनापछि महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान संशोधन र सङ्गठनात्मक प्रतिवेदन जिल्ला जिल्लामा पठाउन थालेको छ ।
एमालेको नवौं महाधिवेशन गत असार १९ देखि यही साउन १ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो र पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो ।
पार्टीका उपमहासचिव विष्णुप्रसाद पौडेलका अनुसार केन्द्रीय कमिटीले गठन गरेको परिमार्जन र प्रकाशनसम्बन्धी कार्यदलको सुझाव समेटेर ती प्रतिवेदन तल्लो कमिटीमा पठाइएको हो ।
तीनवटै प्रतिवेदन दश÷दश हजार प्रति छापेर पार्टीका तल्ला तहमा पुर्याउन लागिएको हो ।
संशोधित विधानमा पार्टीको नेतृत्व तहमा ७० वर्षपछि अवकाश हुने, पदाधिकारीको सङ्ख्या बढाउने, पोलिटब्युरो सदस्यमा चयन हुन एक कार्यकाल केन्द्रीय कमिटीको सदस्य हुनुपर्नेलगायतका प्रावधान राखिएको छ ।
एमालेले अहिलेसम्म पोलिट्ब्युरो बनाउने र जिम्मेवारी बाँडफाँड गर्ने कार्य गर्न सकेको छैन । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधव नेपाल पक्षबीच अहिले पनि जिम्मेवारी बाँडफाँडमा कुरा मिलिरहेको छैन ।
विवादित विषयमा छलफल गर्न एमालेको केन्द्रीय कमिटीको स्थगित तेस्रो पूर्ण बैठक यही मंसिर २२ गतेका लागि तय गरिएको बताइएको छ ।