
लुम्बिनी, १७ मंसिर– ‘लुम्बिनीको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ भोलि देखि लुम्बिनी महोत्सव सुरु हुँदैछ ।
छैटौं पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लुम्बिनी पर्यटन महोत्सव नाम दिइएको यस महोत्सवमा तीन लाख दर्शकले मेला अवलोकन गर्ने तथा १० करोड रुपैंयाको कारोबार हुने अपेक्षा आयोजकले राखेको छ ।
स्थानीय सिद्धार्थ रङ्गशालामा सञ्चालन हुने महोत्सवको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंसिर १८ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवको स्टल निर्माण, मञ्च व्यवस्थापन, स्टल सजावटलगायतका सम्पूर्ण काम पूरा भएको मेला आयोजक मूल समितिका संयोजक तथा रुपेन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए ।
महोत्सवमा यस क्षेत्रको पर्यटन, कृषि, उद्योग तथा व्यापार प्रवद्र्धनमा सहयोग पु¥याउने, स्थानीय स्तरमा उत्पादित वस्तु तथा हस्तकलाका सामग्रीको बजार प्रबद्र्धन गर्ने, रुपन्देहीलाई पर्यटकीय औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गरी सिद्धार्थनगर र लुम्बिनीमा आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने, निकासीयोग्य वस्तु तथा सेवाको पहिचान गरी बजार प्रबद्र्धन गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको निवर्तमान अध्यक्ष एवम् मेला व्यवस्थापन सहसंयोजक महेन्द्रकुमार श्रेष्ठले बताए ।
महोत्सवमा विभिन्न प्रकृतिका ३०० स्टल रहने छन् । दश दिनसम्म चल्ने महोत्सवमा कृषि, तयारी पोसाक, वित्तीय संस्था, अटो मोबाइल्स, होटल, कुटिर उद्योगसम्बन्धी स्टल रहने छन् ।
मेलाका अवधिमा लुम्बिनीभित्रका गुम्बा र विहार साथै रामग्राम, तिलौराकोट, देवदहलगायतका स्थानको वृत्तचित्र प्रदर्शनी र कृषि क्षेत्रको अवलोकन भ्रमण पनि गराइने छ ।
महोत्सव सुरु हुनुअघि बिहान ९ बजे भैरहवाको लुम्बिनी रोडको लुम्बिनी द्वारबाट सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने छ ।