सुन्तलाले बजार पाएपछि म्याग्दीका कृषक उत्साहित

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १०:५४ मा प्रकाशित

बाबियाचौर, १६ मंसिर– गाउँमा उत्पादित सुन्तला राजधानी काठमाडौँको बजारमा जान थालेपछि म्याग्दीको भकिम्ली गाविस–५ राखुका कृषक उत्साहित भएका छन् ।
Suntala-Myagdi
बजार खोज्दै काठमाडाँैको कालिमाटीस्थित तरकारी तथा फलफूल बिक्री केन्द्रमा पुगेका राखुका किसानले उचित मूल्य पाएपछि यस वर्ष मङ्सिरमै गाउँका सबै बगैँचाको सुन्तला एकैपटक बेच्न पाए ।

स्थानीय बजारमा मौसममा सुन्तला आपूर्ति बढ्दै गएपछि यसअघि त्यहाँका कृषक फूल खेल्ने समयसम्म पनि सुन्तला बिक्री नभएर चिन्तित र निरास बनेका थिए । उनीहरूले बजारीकरण गर्न नसक्दा सुन्तलाखेतीबाट भनेजस्तो आम्दानी गर्न सकेका थिएनन् ।

सुन्तलाखेती विस्तारसँगै नजिकको बेनी, बागलुङ र कुश्माको बजारमा खपत हुन नसकेपछि बजार खोज्दै काठमाडाँै पुगेर सुन्तला बिक्री गर्न थालेको राखुका कृषक खिमबहादुर पुनले बताए ।

‘काठमाडौँ पुगेर व्यापारीसँग सम्पर्क गरेपछि गाडी लिएर सुन्तला किन्न गाउँमै आएका छन्,’ पुनले भने, ‘गाउँका सबै बगैँचाको सुन्तला एकैपटक बिक्री गर्न पाउँदा महिनौँसम्म ग्राहक कुरेर बस्नुपर्ने समस्या हटेको छ ।’

राखु गाउँमा उत्पादन भएको रु दुई लाख २५ हजार मूल्यबराबरको चार मेट्रिक टन सुन्तला गत हप्ता काठमाडौँ पुगेको थियो । पाकेर दाना पहेँलो भइसकेकाले अन्य ठाउँको भन्दा राखुको सुन्तला स्वादिलो र रसिलो छ ।

साठी घरधुरीको बसोवास रहेको राखु गाउँका ३५ घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका छन् । यस वर्ष सुन्तला बेचेर गाउँमा रु १५ लाख भित्र्याउने लक्ष्य रहेको कृषक पुनले बताए । कृषकले व्यापारीलाई प्रतिदुई दानालाई रु पाँचका दरले बेच्ने गरेका छन् ।

काठमाण्डु पु¥याउँदा ए र बी ग्रेडको सुन्तलालाई प्रतिकिलो ६२ र ३८ तथा सी ग्रेडलाई प्रति क्रेट रु ४०० पर्छ । एकै दिनमा रु ५८ हजारको सुन्तला बेचेका राखुका अगुवा कृषक जगबहादुर रानाले बजारीकरण भएपछि कृषकलाई सहज भएको बताए । चालीस हजार बोट सुन्तला रहेको राखु गाउँमा अहिले १० हजारभन्दा बढी बोटमा फल लागेको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us