
झापा, १६ मंसिर– एमाले केन्द्रीय सदस्य शंकर पोखरेलले संवैधानिक राजनीतिक–संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईलाई बाटो खाली गर्न आग्रह गरेका छन् ।
झापाको विर्तामोडमा मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले भट्टराईले कि त सहमति गर्नु पर्ने नभए बाटो खुला गर्नुपर्ने बताए ।
भट्टराईकै कारण संविधान निर्माण प्रक्रियामा गतिरोध उत्पन्न भएको आरोप उनको थियो । ‘कि सहमति गर्नुस् कि बाटो खुला गर्नुस्, पोखरेलले भट्टराईलाई भने, ‘तर संवैधानिक समितिको गतिरोध यथास्थितिमै राखेर संविधान निर्माण प्रक्रियामा व्यवधान नगर्नुस् ।’
पोखरेलले एमाओवादीतर्फ लक्षित गर्दै पूर्ण सहमतिको संविधानको रटान कसैले पनि लगाउन नमिल्ने बताए । अर्को एक फरक प्रसंगमा उनले राष्ट्रिय सहमतिको सरकार आफूहरुको प्राथमिकतामा नपरेको दाबी गरे ।