
काठमाण्डु, १५ मंसिर– सर्वसाधारणको ५ करोड ७५ लाख हिनामिना गरेर फरार रहेका हिमालयन बैंकका तत्कालीन सहायक प्रबन्धक अनिसभक्त सुवाल डंगोल पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर अपराध महाशाखा हनुमानढोकाका अनुसार उनलाई बाँके खास कारकाँदोस्थित एयरपोर्ट सडकबाट पक्राउ गरिएको छ ।
बैंकको कार्ड सेन्टरमा काम गर्ने सुवालले अनियमित तरिकाले क्रेडिट कार्ड र डेविट कार्ड बनाई पटक/पटक बैंकबाट ५ करोड ७५ लाख ४८ हजार २५० रुपैयाँ झिकेका थिए ।
प्रहरीका अनुसार सुवालले आफ्नो र श्रीमतीको एटीएम कार्डबाट पैसा निकाल्ने र त्यसको तथ्याङ्क मेट्ने गर्दै आएका थिए । यसरी निकालेको पैसा क्यासिनोमा जुवा खेलेर सकेको प्रहरीले बताएको छ ।
लामो समयसम्म पनि उनले यसरी पैसा झिकेको बैंकले पत्तो पाएको थिएन । तर, एटीएम मेसिनको हिसाव मिलानमा समस्या भएपछि बैंकले प्रहरीमा उजुरी गरेको थियो । लगतै सुवाल फरार भएका थिए ।