कालीगण्डकीमा जलयात्रा गर्ने पर्यटक बढे

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते ११:५७ मा प्रकाशित

पर्वत, १५ मंसिर– पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजारदेखि स्याङ्जाको मिर्मीसम्मको जलयात्रामा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ ।

steamer

स्टिमरको यात्रा गरेर रमाइलो गर्नेहरू र कामको सिलसिलामा यात्रा गर्नेले स्टिमरमा चाप बढ्दै गएको हो । मनोरम प्राकृतिक सम्पदाको दृश्य देख्न सकिने भएकाले स्टिमरको यात्राका लागि भन्दै बाहिर जिल्लाबाट पर्यटक आउन थालेका छन् ।
यहाँ आउने पर्यटकले प्राकृतिक दृश्यले लोभ्याउने गरेको बताउँछन् । पूर्वाधारको विकास र प्रचारप्रसार गर्न सकेमा नेपालकै आकर्षक पर्यटकीय क्षेत्रका रूपमा यो क्षेत्रलाई विकास गर्न सकिने यहाँ आउने पर्यटकले बताए ।

बर्खाको तीन महिनासम्म वनद रहेको सेवा अहिले सुचारु भएदेखि दैनिक रूपमा एक हजार ५०० भन्दा बढी यात्रु स्टिमरबाट ओहोरदोहोर गर्ने गरेका छन् ।

कालीगण्डकीमा सञ्चालनमा रहेको स्टिमर सेवाले पर्वत, बागलुङ, गुल्मीलगायतका जिल्लावासीलाई यातायातमा समेत फाइदा दिँदै आएको छ । विगत १५ वर्षदेखि व्यावसायिक रूपमा स्टिमर सञ्चालन भएपछि दर्जनाँै गाविसका बासिन्दाले नौ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन् ।

पर्वतको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणवर्ती झन्डै डेढ दर्जन त्यस्तै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी गाविसवासीलाई सहज रूपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका छन् ।

स्टिमरले उक्त क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा समेत सुधार भएको छ । पहिले कालीगण्डकीमा ताल वनदा बजार डुबानमा पर्ने चिन्ता गर्नेहरूका लागि अहिले त्यही जलाशय बरदान जस्तै वनेको शालिग्राम उच्च माविका शिक्षक जोगबहादुर सोनीले बताए ।

जलाशयमा दैनिक रूपमा सञ्चालित १० वटा स्टिमर सञ्चालनमा रहेका छन् । स्टिमरमा २४ जनाले प्रत्यक्ष रूपमा र दर्जनाँै व्यक्तिले अप्रत्यक्ष रूपमा रोजगारीको अवसरसमेत पाएका छन् ।

२०५७ सालदेखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको स्टिमर व्यवसायी नारायणप्रसाद भट्टराईले बताए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us