मोदी आफ्नै व्यस्तताले बाहिर घुम्न नगएको प्रधानमन्त्रीको दाबी

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी आफ्नै व्यस्तताले सार्क शिखर सम्मेलनका बेला नेपालका धार्मिकस्थलहरु जान  नभ्याएको बताएका छन् ।
sushil da
उनले भने, ‘ती स्थलका भ्रमणबारे मैले उहाँ (भारतीय प्रधानमन्त्री मोदी)सँग टेलिफोन संवाद गरेको थिएँ । मसँग उहाँले ‘यसपटक बढी व्यस्तताका कारण सकिनँ, अवसर मिलाएर ती स्थलको भ्रमण चाँडै गर्नेछु’ भन्नुभयो ।’

मोदीले जनकपुर, लुम्बनी र मुक्तिनाथ क्षेत्रको भ्रमण गर्ने भन्दै नेपाल सरकारले त्यसका लागि तयारी समेत गरेको थियो ।

सार्क सम्मेलनको समग्र पक्षमाथि समीक्षा गर्न आज सिंहदरबारमा डाकिएको बैठकमा बोल्दै प्रधानमन्त्री कोइरालाले भने, ‘हामीले त भारतीय प्रधानमन्त्री मोदीको ती क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम तय भएपछि आवश्यक सबै तयारी पूरा गरेका थियौँ, पछि मैले संवाद गर्दा उहाँले यसपटक जान भ्याइनँ भन्ने जवाफ पाएँ ।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले मङ्सिर ७ गते आइतबार विज्ञप्ति प्रकाशित गरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका ती स्थलको भ्रमण नगर्ने जानकारी गराएका थिए ।

‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने नाराका साथ यही मङ्सिर १० गते सुरु भएको सार्कको अठारौँ शिखर सम्मेलन ३६ बुँदे काठमाडाै घोषणापत्र जारी गर्दै मङ्सिर ११ गते सम्पन्न भएको थियो ।

सार्क शिखर सम्मेलनले क्षेत्रीय विकासमा सहकार्य, सद्भाव र समझदारीलाई अझ उँचो बनाउन कोसेढुङ्गाको काम गरेको प्रधानमन्त्रीले कोइरालाले बैठकमा बताए ।

सार्कका अध्यक्षसमेत रहेका कोइरालाले आगामी दिन सार्कलाई थप क्षेत्रीय एकता र सहयोगको साझा मञ्चका रुपमा विकसित गर्दै लग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

बैठकमा प्रधामन्त्री कोइरालाले परराष्ट्र सहितका सरोकार भएका मन्त्रालय, कूटनीतिक नियोग, राजनीतिक दल, तीनवटै सुरक्षा निकाय, राजनीतिक दल, होटल व्यवसायी एवम् नेपाली जनताको सहयोग र सद्भावबाट शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै सहयोग पु¥याउने सबैमा धन्यवाद एवम् आभार व्यक्त गरे ।

प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनमा सहभागी भएका सबै सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख, पर्यवेक्षक देशका प्रतिनिधि, सार्क मन्त्रिपरिषद्का सदस्य, स्थायी समिति र कार्यक्रम समितिका सदस्यलाई समेत धन्यवाद ज्ञापन गरे ।

बैठकमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, मन्त्रिपरिषद्का अन्य सदस्य, तीनवटै सुरक्षा निकायका प्रमुख र नेपाल सरकारका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

परराष्ट्रमन्त्री पाण्डेले बैठकपछि सार्क शिखर सम्मेलनका क्रममा तयार भएका भौतिक पूर्वाधारहरुको संरक्षण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।

उनका अनुसार सार्क घोषणापत्र कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशनसमेत दिइसकिएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us