
काठमाण्डु, १५ मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट सम्बन्ध विच्छेद गरेको सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आज नयाँ पार्टी घोषणा गर्दैछ ।
दिउँसो १ बजे जमलस्थित राष्ट्रिय नाचघरको चन्दको नेतृत्वमा पार्टी घोषणा हुने सो पक्षका नेता खड्गबहादुर विकले काठमाण्डु टुडेलाई जानकारी दिए । शुक्रबार र शनिबार चितवनको शुक्रनगरमा भएको राष्ट्रिय भेलाले चन्दको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो ।
पत्रकार सम्मेलनमा पार्टी घोषणासँगै आगामी कार्यदिशाबारे जानकारी गराइने विकले बताए । उनका अनुसार राष्ट्रिय सम्मेलनको मिति पनि आजै घोषणा गरिनेछ । चितवन भेलाले पार्टीको नाम भने नेकपा माओवादी राख्ने निर्णय गरेको उनले बताए ।
मोहन वैद्यको नेतृत्वमा क्रान्ति हुन नसक्ने भन्दै बाहिरिएको उक्त समूहले सशस्त्र समूहको तयारी गरेको छ । यद्यपि सशस्त्र संघर्षको सुरुआत कहिलेदेखि र कसरी गर्ने भन्नेबारे केही बताइएको छैन ।