
रौतहट, १५ मंसिर– जिल्लामा पशु बीमा कार्यक्रमतर्फ कृषकको आकर्षण बढ्दो अवस्थामा रहेको पाइएको छ । रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम क्षतिपूर्तिबापत पाउन थालेपछि पशु बीमा कार्यक्रम प्रभावकारी बन्न थालेको हो ।
जिल्ला पशु सेवा कार्यालय रौतहटले गाई माई (गाईलाई आमा मान्ने) कार्यक्रमअन्तर्गत विभिन्न गाविसमा पशु बीमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ ।
कार्यलयका पशु विकास अधिकृत खड्ककुमार मैनालीले चन्द्रपुर नगरपालिका, गौर नगरपालिकालगायत विभिन्न गाविसमा दुई सयभन्दा बढी कृषकले पशुको बीमा गराएको बताए । उनका अनुसार सरकारले पनि पशु बीमा कार्यक्रममा कृषकलाई अनुदान दिँदै आएको छ ।
पशु बीमा गर्दा प्रिमियरबापत २५ प्रतिशत रकम मात्रै सुरुमा बुझाउनु पर्ने हु्ँदा कृषकको यस कार्यक्रमतर्फ आकर्षण बढेको हो । कृषकले रु एक लाखको पशु बीमा गर्दा वार्षिक रु एक हजार चार सय ५० मात्रै प्रिमियम बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
बिरामी पशुको कुनै लापरवाही नगरिकन उपचारको क्रममा मरेमा जिल्ला पशु सेवा कार्यलय रौतहटको सिफारिसमा कृषकले सजिलैसँग बीमा रकम पाउने व्यवस्था रहेको अधिकृत मैनालीले बताए । रासस