पुराना र अवैध रुपमा सञ्चालित गाडी नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते २:५७ मा प्रकाशित

इलाम, १५ मंसिर– हालै सरकारले ल्याएको यातायात नियमविपरीत सवारी चलाउने चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । बीसवर्षे पुराना सवारीसाधन, जााचपास नभएका र नवीकरण नगरिएका एक दर्जन सवारीसाधनलाई आइतबार प्रहरीले इलामका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

इलाम–इभाङ सञ्चालन भइरहेको इभाङका इन्द्र राईको मे१ज ३९७ नम्बरको ल्यान्डरोभर गाडी, मेची राजमार्गअन्तर्गत रक्सेमा चलिरहेको पूर्णबहादुर कार्कीको ग१ज ५३३३ नम्बरको गाडी, को१ज ६४३, को१ज ८४८ र ग१ज ३८७९ नम्बरको सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अनुपमन शमशेर जबराले बताए ।

यस्तै अन्य सवारीसाधन पनि मातहतका प्रहरी चौकीले नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालय इलाममा बुझाइएको छ । नियन्त्रणमा लिएका कुनै सवारीसाधनको जाँचपास नभएको, कसैको रुटपर्मिट नभएको, कसैको जाँचपास र रुटपर्मिट दुवै फेल भएको तथा पुराना सवारीसाधन रहेको प्रहरीले जनाएको छ ।

कार्यालयमा जिम्मा लगाएपछि यातायात व्यवस्था सेवा कार्यलयले यातायात ऐनअनुसार प्रक्रिया अघि बढाउने बताइएको छ । सरकारले २० वर्ष पुगेका पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाउने, हुट हटाउने, गाडीका पुर्जाहरु बिनास्वीकृति परिवर्तन गर्न नपाउने, जाँचपास र रुटपर्मिट नभएका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयबमोजिम प्रहरीले अहिले धमाधम त्यस्ता सवारीसाधन नियन्त्रणमा लिएर यातायात व्यवस्था सेवा कार्यालयमा बुझाउन थालेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us