
काठमाण्डु, १५ मंसिर–सशस्त्र विद्रोहको तयारीका लागि नेकपा (माओवादी) पुनर्गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टीको पहिलो चरणको लडाईं राज्यका सेना, पुलिस र गाउँका सामन्तविरुद्द नहुने भनेपछि उनका कार्यकर्ता अल्मलिएका छन् ।
तर, चाडै नै कार्यकर्ता तहमै विप्लवको सर्कुलर पुग्नेछ । स्रोतका अनुसार विप्लव समूहले पहिलो चरणमा शहरका भ्रष्ट, दलाल र नवधनाढ्यविरुद्द भौतिक हमलाबाट आफ्नो अभियानलाई जनतामा स्थापित गर्ने भएको छ ।
विप्लव समूहले अहिले नै हतियारको लडाईं नलड्ने तर, जनताले समर्थन गर्ने खालका राज्यले गर्न नसकेका काम गरेर स्थापित हुने सोच बनाएको स्रोतले जनाएको छ ।
‘अब हिजो प्रचण्डको माओवादीले गाउँका दुई चार मुरी धान फाउने सामन्त होइन, दुई चार अर्ब रुपैयाँ लुटेर सहरमा सान देखाउने भ्रष्ट, अपराधीमाथि कारबाही हुन्छ,’ विप्लव समूहका एक नेताले भने,‘ जनताको रगत पसिना चुसेर अघाएकाहरु र जनमुक्तिसेनाको रगत पसिनासँग साटिएका रकममा मोज गर्नेहरु कारबाहीको निशानामा पर्छन् ।’
लडाकुको अर्बौं रुपैयाँ कसले कति कति खाए भन्ने विवरण सायद विप्लव समूहलाई जति अरुलाई थाहा छैन । साँघु साप्ताहिकबाट