चीनबाट उन्नत जातका दश हजार गाई ल्याउने तयारी

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते १६:२६ मा प्रकाशित

cowकाठमाण्डु, १४ मंसिर– सरकारले चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने तयारी गरेको छ ।

भारतबाट सोही सङ्ख्यामा उन्नत जातका गाई ल्याउन प्राविधिक कठिनाई भएपछि सरकारले चीनबाट ल्याउने तयारी गरेको हो ।

मुलुकमा दूध र दुग्धजन्य उद्योगको समग्र स्थिति झल्काउने नेपाल डेरी एसोसिएसनको प्रकाशन ‘डेरी दर्पण’ को आज यहाँ विमोचन गर्दै कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले भारतको कानुनअनुसार गाई नेपाल निकासी गर्न नसकिने जवाफ भारतीय राजदूतावासबाट प्राप्त भएकाले चीनबाट ल्याउने तयारी गरिएको जानकारी दिए ।

‘चीनको सिचुवान प्रान्तबाट गाई ल्याउने तयारी भइरहेको छ, त्यसबारेमा छलफल गर्न चिनियाँ कम्युनिष्ट पार्टीको ग्याङजोङ प्रान्तका उपाध्यक्ष भोलि राजधानी आउँदै हुनुहुन्छ’, मन्त्री पराजुलीले भने ।
मुलुकको विकासको मेरुदण्ड कृषि र पशुपालन भएको दोहो¥याउँदै उनले दुग्ध क्षेत्र र त्यसमा संलग्न किसान एवम् उद्यमीको हित संरक्षणमा सरकार क्रियाशील रहेको बताए ।

एसोसिएसनका अध्यक्ष मेघराज भण्डारीको सभापतित्वमा भएको उक्त समारोहमा एसोसिएसनका प्रथम उपाध्यक्ष सुमित केडियाले देशभरका ४ लाख ५० हजार किसान दूधमा आश्रित रहेका र १० हजारले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिँदै देशलाई विकासशील मुलुकमा स्तरोन्नति गर्न कृषिसँगै पशुपालनमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us