
काठमाण्डु, १४ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले काँग्रेस बाँकेका सभापति अरुण कोइरालाको निधनले पार्टी र लोकतन्त्रलाई ठूलो क्षति भएको बताएका छन् ।
अरुणको १३ औं पुण्य तिथिका अवसरमा राजधानीमा आइतबार भएको कार्यक्रममा उनी भाईलाई सम्झेर पटकपटक भावबिहवल भए ।
अरुणको निधनले बेलबेलामा सरसल्लाह गर्ने मानिसको खाँचो भएको उनको भनाइ थियो । दुईभाइ बीच साथीको जस्तो सम्बन्ध रहेको स्मरण उनले गरे । अरुणको निधनबाट आफूलाई ठूलो क्षति भएको बताउँदै भने, ‘अब आपसी सरसल्लाह गर्ने अवसरबाट म बञ्चित भएको छु ।’
बीपीबाट प्रभावित अरुणमा सधैं राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भनेपछि मरिमेट्ने स्वभाव रहेको स्मरण प्रधानमन्त्रीले गरे ।
अस्पतालको सैय्यामा बचन बसेका बेलामा पनि अरुणले लोकतन्त्र र संविधानको चिन्ता लिएको बताए । ‘आईसीयूमा थियो । होस थियो तर बोल्न नसक्ने । कलम कापी माग्यो । मलाई सम्बोधन गरेर लेखेको पत्रमा घर परिवारको उल्लेख गरेन । राष्ट्रियता, प्रजातन्त्र, समाजवादमा कसैसँग सम्झौता नगर्न आग्रह गर्दै मुलुकमा लोकतन्त्रिक संविधान ल्याएर मुलुकलाई समृद्ध बनाउने सन्देश दियो’, उनले भने ।
उनले ईश्वरले पनि असल मानिसलाई चाँडै लग्ने बताउँदै भने, ‘ऊ एक प्रजातन्त्र सेनानी थियो । हामी घरपरिवारमा त अपूरणीय क्षति नै भयो । देशलाई पनि ठूलो क्षति भयो ।’ मन्तव्यका क्रममा प्रधानमन्त्री कोइरालाको गला पटकपटक अवरुद्ध भएको थियो ।