
काठमाण्डु, १४ मंसिर– आफ्नै झड्केली छोरीलाई बलात्कार गरेर गर्भवती बनाउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र एक लाख क्षतिपूति भराउने फैसला गरेको छ ।
श्रीमती गर्भवती भएकाबेला झड्केली छोरी बलात्कार गर्ने धादिङ ताल्ती गाविस–४ घर भई भक्तपुर कटुञ्जे–६ बस्ने वर्ष २८ का पशुपति विकलाई न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले छोरीलाई बलात्कार गरी गर्भवती बनाएको ठहर गर्दै उक्त फैसला गरेको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
आफ्नै श्रीमानले छोरीलाई डरधम्की देखाएर पटकपटक बलात्कार गरेको थाहा पाएपछि श्रीमानविरुद्ध श्रीतीले उजुरी दिएपछि प्रहरीले विकलाई पक्राउ गरेको थियो ।
आमाको गर्भ आठ महिनाको रहँदा छोरीको गर्भ छ महिनाको भइसकेकाले छोरीको गर्भपतन गर्न नसकिएपछि निजलाई हाल सिविसले संरक्षण दिएको छ ।
अदालतको फैसलाअनुसार एक लाख क्षतिपूति तत्काल विकसँग भराउन नसक्ने भएकाले विकको सम्पत्तिबाट पछि असुलउपर गर्ने गरी तत्काल नेपाल सरकारले दिने फैसला गरेको छ ।
त्यस्तै गर्भवती बालिकाको संरक्षण गर्ने, उनीबाट जन्मने बच्चालाई आमाले संरक्षण गर्नसक्ने अवस्था नभएसम्म सिविसले संरक्षणमा राख्ने फैसला गरेको छ । रासस