विप्लवले पद नपाएर पार्टी फुटाए: बादल
काठमाण्डु टुडे
२०७१ मंसिर १४ गते १४:०४ मा प्रकाशित
काठमाण्डु, १४ मंसिर– नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले पार्टीका पूर्वसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ठूलो पद नपाएका कारण पार्टी फुटाएको आरोप लगाएका छन् ।
ललितपुरको कुपण्डोलस्थित जनवर्गीय संगठनको कार्यालयमा उपत्यका स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा थापाले चन्दले महासचिव वा अध्यक्षमध्ये एक पद दाबी गरेको र नपाएका कारण पार्टी छाडेर गएको बताए ।
‘पार्टी गठन भएलगत्तै बौद्ध भेलामा उनले महासचिव खोजेको संकेत गरेका थिए’, थापाले भने, ‘महाधिवेशनसम्म आइपुग्दा त प्रष्टरुपमै आयो, त्यो नपाएपछि हिँडे ।’
चन्दले आफ्नो दस्तावेजमा सत्ता साझेदारको प्रस्ताव ल्याएको आरोप लगाउँदै थापाले त्यसले सरकारसँग सौदावाजी मात्रै गर्न खोजेको पुष्टि गरेको बताए ।
महासचिव थापाले पार्टी फुटेको नभई विजातीय तत्वहरु मात्रै बाहिरिएको बताउँदै अन्तर संघर्षले महत्वकाङ्क्षी र व्यक्तिवादी आचरण भएकालाई कुचो लगाएको जिकिर गरे ।
कार्यक्रममा पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले टाउको र पुच्छर नभएको कार्यदिशा लिएर चन्द पक्ष अगाडि बढ्न खोजेको टिप्पणी गरे ।