
काठमाण्डु, १४ मंसिर– नेपालमा चोर औंलो उचालेको फोटो वा सालिक कहीं छ भने झट्ट सम्झना हुन्छ– त्यो पृथ्वीनारायण शाहको हो । तर, अहिले नेपाली मिडियामा पनि छाइरहेका र चोर औंलो ताकिरहेका नयाँ नेता देखिएका छन्– नरेन्द्र मोदी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना अभिव्यक्ति र भूमिकाका कारण दक्षिण एशियामा मात्रै होइन, संसारभरि चर्चामा छन् । नेपालमा पनि गएका एक साता उनकै चर्चा भयो ।
चर्चाकै क्रममा अहिले भने भारतमा उनले बारम्बार औंला ताकेर किन कुरा गर्छन् भन्ने कुरा मिडियामा उठेको छ ।
नेपालमा १८ औं सार्क शिखर सम्मेलनका क्रममा पनि मोदीले बारम्बार चोर औंला उचालेका थिए । सार्क सम्मेलनको समापन समारोहमा पाकिस्तानी प्रधानमन्त्रीसँग हात मिलाउँदा पनि उनले देब्रे हातको चोर औंला ताकेर केही भनिरहेका थिए ।
बिबिसीले एक रिपोर्टमा मोदी आफ्नो छ महिनाको प्रधानमन्त्रीकालमा अनेकौं पटक चोर औंलो देखाएर भाषण, कुराकानी वा अन्तर्वार्तामा प्रस्तुत भएका तस्विरहरु प्रकाशित गरेको छ ।
मोदीले महाशक्ति राष्ट्र मानिने अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि पाकिस्तानी प्रधानमन्त्री सरिफसम्मलाई औंला ताकेका छन् । छ महिनाको अवधिमा उनले ३२ दिन त विदेश यात्रा मात्रै गरे । अमेरिकादेखि अस्ट्रेलियासम्म, नेपालदेखि भुटानसम्म ।
सञ्चार माध्यमहरुले उनलाई दक्षिण एशियाको प्रमुख शक्तिका रुपमा विश्व महाशक्तिको ध्यान खिच्न खोजेको टिप्पणी गरेका छन् । सार्क सम्मेलनका क्रममा मोदीले गरेको प्रस्तुतिलाई त बिबिसीले ‘बिग ब्रदर’ अर्थात् ठूल्दाजुको जस्तो भूमिकामा देखिएको उल्लेख गरेको छ ।
यी सबै भ्रमण, सम्बोधन वा भेटघाटमा मोदीको भावभंगिमा (बडी ल्यांग्वेज) आत्मविश्वास पूर्ण भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । सबै सार्वजनिक अवसरमा मोदीले आफ्नो चोर औंलो चलाइरहको देख्न सकिन्छ । कतिसम्म भने दाहिने हात मिलाइरहेको बेलामा उनले देउरे हातको चोर औंलोसम्म प्रयोग गरेका छन् । यो सार्क सम्मेलनका क्रममा पाकिस्तानी प्रधानमन्त्री सरिफसँगको फोटोमा देख्न सकिन्छ ।
नेपालमा चोर औंला उचालिरहेका पृथ्वीनारायण शाहलाई नेपालको ‘एकीकरण’ गर्ने नेताको बिम्बका रुपमा लिने गरिन्छ । भारतीय प्रधानमन्त्री पनि चोर औंला उचालेर विश्वलाई आफूतिरै ध्यान खिच्न खोजिरहेको अनुमान गरिएको छ ।