
काठमाण्डु, १४ मंसिर– एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले क्रान्तिकारी शक्तिलाई पार्टीभित्र र बाहिरबाट विभाजन गर्न सक्रिय भएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा जनयुद्धकालमा मारिएका पार्टी केन्द्रीय सदस्य किमबहादुर थापाको स्मृति दिवसमा बोल्दै महराले पार्टी विभाजन गराउनेहरुबाट सचेत रहने आग्रह गरेका हुन् ।
उनले सहिदको सपनालाई पूरा गराउनका लागि आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्नुपर्ने बताए ।
उनले जनताको चाहना र भावनाअनुसार सहिदको सपनालाई पूरा गर्न पनि तोकिएको समयमै जनपक्षीय संविधान जारी हुनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा एमाओवादी सचिव वर्षमान पुनले जनताको अपेक्षाअनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने बताए ।
२०६१ मंसिर १४ गते तत्कालीन शाही सेनाले गरेको हवाई हमलाका क्रममा माओवादीका तत्कालीन केन्द्रीय सदस्य थापा रोल्पामा मारिएका थिए ।