काठमाण्डु, १४ मंसिर– नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणसँग अनुमतिपत्र रहेका दूधकोसी, माथिल्लो अरुण र तामाकोसी ५ को अध्ययन प्रकि्रया शीघ्र अघि बढाउन माग गरेको छ ।
कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाउँदै युनियनले वैदेशिक लगानी ल्याउँदा बिनासर्तको स्वतन्त्र पुँजी ल्याउन, जलाशययुक्त आयोजना बनाउन, प्राधिकरणको नेतृत्वमा अधिकतम सेयर प्राधिकरणको रहने गरी चिलिमे-तामाकोसी ढाँचामा जनता र कर्मचारीको सहभागिता रहने गरी स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न तथा प्राधिकरणवाट सञ्चालित आयोजना तोकिएको समय र लागतमा निर्माण हुन नसक्नाका कारणको पहिचान गरी छिटो सम्पन्न गर्नेतर्फ कदम चाल्न माग गरेको छ ।
नेपाल राष्ट्र बैंकको महँगी सूचकाङ्कका आधारमा प्रत्येक वर्ष महसुल समायोजन हुने व्यवस्था गर्न, प्रसारण लाइनको सुनिश्चितताबिना विद्युत् खरिद सम्झौता गर्ने परिपाटी बन्द गर्न, विदेशी मुद्रामा विद्युत् खरिद सम्झौता गर्दा विदेशी मुद्राको जोखिम विद्युत् खरिदकर्ता प्राधिकरणले मात्र व्यहोर्ने प्रचलन बन्द गर्न, आयोजनाका कार्यालय सम्बन्धित क्षेत्रमा खोलाउन र ऊर्जामन्त्रीस्तरबाट गठन भएको समितिले दिएको विद्युत् चुहावट नियन्त्रणसम्बन्धी सुझाव यथाशीघ्र कार्यान्वयन गर्न माग गरिएको छ ।
त्यस्तै प्राधिकरणको व्यवस्थापकीय र प्रशासनिक सुधारका लागि स्वतन्त्र प्रशासनिक सुधार आयोग गर्न र प्राधिकरणभित्र आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशीघ्र सम्पन्न गराउन युनियनले माग गरेको अध्यक्ष रामप्रसाद रिमाल र महासचिव रामेश्वर पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जनाइएको छ । रासस