
म्याग्दी, १३ मंसिर– आन्तरिक राजस्व कार्यलय पोखराले म्याग्दीका दुई संस्थालाई धेरै कर तिरेबापत सम्मान गरेको छ । म्याग्दीमा केन्द्रीय कार्यालय रहेको निलगिरि विकास बैंक र न्यू बेस्ट प्वाइन्ट आवासीय उमाविलाई राजस्व कार्यलयले यस वर्षका उत्कृष्ट करदाताका रुपमा शुक्रबार सम्मान गरेको हो ।
निलगिरि विकास बैंकले रु १ करोड ५३ लाख २ सय ६५ र न्यू बेस्ट प्वाइन्टले रु ७ लाख कर बुझाएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ ।
‘कर तिरेबापत सम्मानित हुन पाउदा उत्साहित भएका छौं, राज्यलाई कर तिर्नु हाम्रो कर्तव्य हो’, न्यू बेस्ट प्वाइन्ट फाउन्डेसनका अध्यक्ष सुवासकुमार श्रेष्ठले भने । न्यू बेस्ट प्वाइन्ट जिल्लाकै सफल सामूहिक लगानीमा स्थापना भएको शैक्षिक संस्था हो । निजीस्तरबाट स्नातक कक्षासम्म सञ्चालन गरेको कलेजले निकट भविष्यमा स्नातकोत्तर कक्षासमेत सञ्चालन गर्ने जनाएको छ ।
त्यसैगरी निलगिरि विकास बैंक धौलागिरि अञ्चलमा नै पहिलो पटक विकास बैंकको अवधारणा भित्र्याएर बैंकिङ सेवालाई ग्रामीण क्षेत्रसम्म पुर्याउने बैंक हो ।
जिल्लामा व्यापार व्यवसाय, उद्योग तथा अन्य आयमूलक क्षेत्रलाई करको दायरामा ल्याउन म्याग्दी उद्योग वाणिज्य संघले समेत कर कार्यालयसँग सहकार्य गरी अभियान सञ्चालन गरिरहेको छ ।