
काठमाण्डु, ११ मंसिर– १६ औं एसियाली खुला फुलकन्टयाक्ट कराते प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज चीनको सांघाई प्रस्थान गरेको छ । भोलिदेखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा समान एक–एक पुरुष र महिला खेलाडीले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषमा ज्ञानबहादुर तामाङ र महिलामा निर्मला बज्राचार्यले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा भने नेपाल क्योकुसिन कराते डो संघका उपाध्यक्ष रविन्द्रसुन्दर सैंजु र प्रशिक्षकमा रविन्द्र महर्जन छन् ।
नेपालमै भएको दोस्रो दक्षिण एसियाली फुलकन्टयाक्ट करातेमा ज्ञानबहादुरले कास्यपदक प्राप्त गरेका थिए । निर्मलाको भने अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो सहभागिता हो ।
एसियाली च्याम्पियनसिपमा नेपालले अहिलेसम्म दुई स्वर्ण, एक रजत र दुई कास्यपदक हात पारेको छ । पहिलो संस्करणमा हाल नेपाल क्योकुसिन कराते डो संघका अध्यक्षसमेत रहेका सिहान जगतप्रसाद गौचनले नेपाललाई स्वर्णपदक दिलाएका थिए । अर्को खेलाडी रुपेश डंगोलले स्वर्ण प्राप्त गरेका थिए ।
यसैगरी, १३ औं संस्करणमा ज्योति तामाङले रजत जितेकी थिइन् । दोस्रोमा रामजीप्रसाद बज्राचार्य र आठौंमा रविना मानन्धरले कास्यपदक हात पारेका थिए । रासस