
जनकपुरधाम, १० मंसिर– सरकारले दिने गरेको अनुदानको रासायनिक मल धनुषा जिल्लाको ग्रामीण क्षेत्रसम्म पुग्न नसक्दा गहुँखेती प्रभावित भएको छ । सहकारी संस्थाले सहुलियत दरको रासायनिक मल किनेर लाने गरेको भए पनि त्यो मल ग्रामीण क्षेत्रका किसानसम्म पुग्न भने सकेको छैन ।
धनुषा जिल्लामा करिब दुई सय तथा महोत्तरी जिल्लामा सय जति सहकारी संस्था रहेका छन् । तिनीहरूले कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाबाट धेरै मात्रामा सहुलियत दरको रासायनिक मल लगे पनि किसानले भने पाउन नसकेका बताइएको छ । उनीहरुले किसानको सट्टा पसलेहरुलाई मल बेच्ने गरेको पाइएको छ ।
साउनदेखि मंसिरसम्ममा ती सहकारी संस्थाले रु ४ करोड ५६ लाख ३५ हजार ७२ बराबरको २ हजार ३ सय ९६ मेट्रिकटन युरिया, रु ७ करोड ७२ लाख ६७ हजार ५ सय ८० मूल्य बराबरको १ हजार ६ सय ७९ मेट्रिकटन डिएपी र रु ३१ लाख ५५ हजार ५ सय ७१ मूल्य बराबरको ९८ मेट्रिकटन पोटास किनेर लगेका छन् ।
ती सहकारी संस्थाले ग्रामीण क्षेत्रसम्म रासायनिक मल नपुर्याएर बीचबाटोमै बेच्ने गरेकाले किसानले सहुलियतदरको रासायनिक मल पाउन नसकेका हुन् ।
जिल्लाको भेटेनरी पसलमा समेत कालोबजारी गरी रासायनिक मल बिक्री भइरहेको गुनासोबारे जिज्ञासा राख्दा निमित्त जनकपुर शाखा प्रमुख नारायण टुडुले भने, ‘सहकारीले ढुवानी खर्च, भरिया खर्च, गोदाम भाडा आदि जोडेर बढी मूल्यमा बिक्री गर्ने गरेकाले किसानलाई महँगो पर्ने गरेको हो ।’ रासस