
हङकङ, १० मंसिर– हङकङमा विगत लामो समयदेखि अस्थिर रहँदै आएको मोंगकोक क्षेत्रमा मंगलबारदेखि विरोध प्रदर्शन पुन: चर्किएको छ । विरोध प्रदर्शनको पहिलो दिन राति आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि बुधबार बिहान सबेरै प्रहरीले एक सय १६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मोंगकोक बजार क्षेत्रका सबै सडक अवरोधसमेत हटाएको छ । सबै प्रदर्शनकारीहरुले बेसबल खेल्दा लगाइने खालको रातो टोपी र ‘आइ लभ हङकङ अंकित रातै रिसर्ट लगाएका थिए ।
केही दिनअघि एउटा मुद्दाको सिलसिलामा हङकङ अदालतले ‘सडकको सबै अवरोध हटाई बाटो खुला गर्न’ आदेश दिएपछि प्रहरीहरु बाटो खोल्न सक्रिय भएका थिए । आइ लभ हङकङ लिखित टिसर्टधारी प्रदर्शनकारीहरुले बाटो खुलाउन प्रहरीलाई सहयोगसमेत गरेका थिए ।
सडकमा तेस्र्याइएका विभिन्न तहका काठका र अरु धातुका बारहरु हटाउने क्रममा प्रहरी आक्रोशित भई प्रदर्शनकारीले जमाएका शिविरका पाल, ओछ्यानलगायतका सामानसमेत ध्वस्त पारिदिएका थिए ।
आफ्नो शिविर ध्वस्त पारेकामा आक्रोशित प्रदर्शनकारी प्रहरीउपर जाइलाग्दै ढुंगामुढा गरेपछि प्रहरीले धरपकड सुरु गरेको थियो । स्थानीय सञ्चार माध्यमकाअनुसार काउलुनको व्यस्त व्यापारिक क्षेत्र नाथन रोडमा मात्र चार हजार सुरक्षाकर्मी परिचालन गरिएका थिए । प्रहरीकाअनुसार प्रदर्शनकारीहरुले बन्चरो, हथौडाजस्ता घातक उपकरण लिएका थिए ।
प्रदर्शनकारीको प्रहारबाट नौ जना प्रहरीसमेत घाइते भएका जनाइएको छ ।
आन्दोलनकारी विद्यार्थीहरुको फेसबुक हङकङ फेडरेसन अफ स्टुडेन्टस पेजमा दिइएको जानकारीअनुसार विद्यार्थी नेताहरु जोस हुआ ओंग र लेस्टरसुङ पक्राउ परेका छन् । आफ्नो नेताहरु मुक्त नगरे आन्दोलन अझै चर्काउने धम्की आन्दोलनकारीले दिएका छन् ।
चीनको अर्धस्वायत्त हङकङमा थप स्वतन्त्रता र अन्य देशसरह पूर्ण प्रजातन्त्रको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनउपर चिनियाँ सरकारले ध्यान नदिएको भन्दै विद्यार्थीहरुले थप कार्यक्रमको घोषणा गरेका छन् । रासस/एपी