१२ करदाता सर्वाेत्कृष्ट घोषित

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ११:०४ मा प्रकाशित

चितवन, ९ मंसिर– आन्तरिक राजस्व कार्यालय चितवनको कार्यक्षेत्र रहेको चितवन– नवलपरासीका १२ करप्रदायक संस्था तथा व्यक्तिलाई उत्कृष्ट करदाता घोषणा गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख करअधिकृत टीकाराम भुसालले छानबिनमा नपरेको, नियमित कर बुझाएका, उच्च आयकर तिर्नेलगायतका मापदण्डका आधारमा यसरी कर तिर्ने १२ वटा संस्था तथा व्यक्ति सर्वाेत्कृष्ट छनोट गरिएको जानकारी दिए ।

४० करोड रुपैयाभन्दा माथि कारोबार गर्नेहरु आफ्नो क्षेत्रमा नपर्ने भन्दै यसमा समावेश नभएको कार्यालयले जनाएको छ । यसरी घोषणा गरिएका करदातामा उच्च आयकरतर्फ शुभेच्छा विकास बैंक परेको छ ।

नवरत्न कमर्सियल इन्टरप्राइजेज, अस्पतालतर्फ चितवन हस्पिटल, नेपाल पोलिटेक्निक इन्स्टिच्युट पनि सर्वाेत्कृष्टमा छनोट भएका छन् भने व्यक्तितर्फ पारिश्रमिक करमा डा जागेश्वर गौतम छनोटमा परेका छन् ।

यस्तै उद्योगतर्फ टाइम फर्मास्युटिकल्स, मूल्य अभिवृद्धि करतर्फ एपोलो पेन्ट्स्, सहकारीमा युनाइटेड हात्ती सहकारी, होटलतर्फ रोयल पार्क छनोटमा परेका छन् भने सिटिसिइ कालिका जेभी, फाइन फिड्स उद्योग तथा गाडीतर्फ नारायणी मोट्र्स छनोटमा परेको भुसालले जानकारी दिए ।

उनीहरूलाई समय मिलाएर सम्मान गरिने कार्यक्रम रहेको कार्यालयले आज जानकारी दिएको छ । गएको वर्ष तीन जनालाई मात्र सम्मान गरिएकामा यसपटक भने विषयगत रुपमा सम्मान गर्न लागिएको हो । कार्यालयमा हालसम्म आयकरतर्फ ३४ हजार, अभिवृद्धिकरतर्फ, पाँच हजार तथा अन्त:शुल्कतर्फ दुई हजार चार सय करदाता रहेका छन् ।

यो वर्ष कार्यालयले दुई हजार घरबहाल करको अनुगमन गर्ने, करिब पाँच हजार नयाँ करदाता थप्ने, २२ हजारभन्दा बढीलाई आयकरमा सहभागी गराउने लक्ष्य राखेको छ ।

यो वर्ष कूल १० अर्ब आठ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको र मूल्य अभिवृद्धिकरतर्फ पुरानो बक्यौतामध्ये १४ करोड ५५ लाख रुपैयाँ असुल गर्ने योजना रहेको प्रमुख कर अधिकृत भुसालले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us