टि–ट्वान्टीमा सोमपालको कीर्तिमान

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ४:१० मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–नेपाली किक्रेट खेलाडी सोमपाल कामीले टि–ट्वान्टीमा अन्तराष्ट्रिय कीर्तिमान कायम गरेकाछन् । नेपाली टोली सोमबारको खेलमा हङकङसँग पराजित भए पनि सोमपाल कामीले कीर्तिमान कायम गर्दै इतिहास रचन सफल भएका छन् ।

sompal

नेपाल र हङकङ दुबैसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट टि–ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता रहेकाले यी दुई टोलीबीच भएको खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिइएको थियो । नेपालले आइसिसीबाट मान्यताप्राप्त टि–ट्वान्टी शृंखला खेलेको यो पहिलोपटक हो ।

खेलमा नेपाल अन्तिम ओभरमा दुई विकेटले पराजित भए पनि नेपाली खेलाडी सोमपाल कामीले कमाल गरे । उनले अन्तर्राष्ट्रिय क्रिकेटमै गजबको कीतिर्मान बनाए । खासगरी आफ्नो धारिलो बलिङले विपक्षी ब्याट्सम्यानलाई थर्कमान बनाउन माहिर सोमपालले सोमबार भने ब्याटिङमै कीतिर्मान बनाएका हुन् ।

हङकङविरुद्द १० औँ नम्बरमा ब्याटिङ गर्दै सोमपालले ४० रन बनाएर टि–ट्वान्टी  अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका हुन् । उनले अफगानिस्तानका हामिद हसनको कीतिर्मानलाई पछि पारेका हुन् । हामिदले सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्ध १० औँ नम्बरमा ब्याटिङ गर्दै अविजित २२ रन बनाएका थिए ।

हङकङका तानवीर अफजलले पहिलो बलमै कप्तान पारस खड्कालाई बोल्ड गरेपछि नेपाल धर्मराउन पुग्यो । तेस्रो नम्बरमा पठाइएका सागर पुनलाई अफजलले २ रनमै पवेलियन फर्काए । ज्ञानेन्द्र मल्ल ५, राजेश पुलामी १, विनोद भण्डारी र वसन्त रेग्मी ३–३ रनमै आउट भएपछि सोमपालको चम्कने पालो आएको हो।

क्रिजमा ओलिर्एदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका १८ वर्षीय सोमपालले ४० रन बनाउने क्रममा केवल ३१ बलको सामना गरी २ छक्का र ६ वटा चौका पनि प्रहार गरे । उनको स्ट्राइक रेट १२९.०३ रह्यो । उनले खेलमा एक विकेट पनि लिएका थिए । भारतबाट क्रिकेट जीवन सुरु गरेका सोमपाल नेपाली टोलीका प्रतिभाशाली तीव्रगतिका बलर हुन् ।

केवल २५ रनकै कूल स्कोरमा ८ विकेट गुमाइसकेको नेपाली टोलीको स्कोरलाई सोमपालले नै ७२ रनसम्म पुर्‍याएका थिए । सोमपालबाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । सोमपालले श्रीलंकाको स्थानीय टोलीसँग भएको दुई वटा तीन दिने खेलमा पनि अलराउन्ड प्रदर्शन गरेका थिए । उनले दुई खेलमा गरेर १८ विकेट र ६६ रन बनाएका थिए । दुबै खेलमा उनी ‘म्यान अफ दि म्याच’ पनि घोषित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us