
महोत्तरी, ७ मंसिर– महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिल अगाडि जिल्लाका १०० भन्दा बढी उखु किसान तीन दिनदेखि धर्नामा बस्दै आन्दोलन सुरु गरेका छन् ।
चिनी मिलसँग उखु किसानले गत वर्षको ४४ करोड रुपैंया बाँकी भुक्तानी माग गर्दै शुक्रबारदेखि आन्दोलनमा उत्रेका हुन् ।
चिनी मिलले आर्थिक वर्ष २०७०/०७१ मा जिल्लाका उखु किसानसँग खरिद गरेको ५८ लाख क्विन्टल उखुको भुक्तानी गर्नुपर्ने रकममध्ये किसानको ४४ करोड आठ लाख रुपैंया अहिलेसम्म पनि नदिएका कारण किसान रकम माग गर्दै आन्दोलनमा उत्रेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले बताएका छन् ।
किसान चिनी मिलको मूल गेटमै धर्ना दिएर आन्दोलनमा उत्रेका छन् भने भुक्तानी नपाउन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
चिनी मिलले किसानको पुरानो भुक्तानी नदिइकन आउँदो मङ्सिर १८ गतेदेखि चिनी मिल सञ्चालनमा ल्याउन लागेको थाहा पाएपछि किसान पहिले पुरानो भुक्तानी अनिमात्रै पुनः मिल सञ्चालन गर्न पाउने भन्दै आन्दोलनमा उत्रेको अध्यक्ष कुशवाहाले बताए ।
चिनी मिलले गत वर्ष किसानसँग प्रतिक्विन्टल रु ४७६ मा उखु खरिद गरे पनि किसानलाई अरु रकम पछि दिने भन्दै प्रतिक्विन्टल रु ४०० का दरले मात्रै भुक्तानी गरेको थियो ।
मिलले गत वर्ष किसानसँग ५८ लाख क्विन्टल उखु खरिद गरेकामा किसानले रु ४४ करोड आठ लाख भुक्तानी पाउन बाँकी रहेको र बाँकी रकम नपाउन्जेल मिल सञ्चालन गर्न नदिने बताउँदै आन्दोलन थालेका छन् ।
यता एभरेष्ट चिनी मिलका प्रबन्धक कृष्णचन्द्र दासले हामी गत वर्ष किसानसँग खरिद गरेको ५८ लाख क्विन्टल उखुको रु ४०० का दरले रु दुई अर्ब ३२ करोड भुक्तानी गरिसकेको र बाँकी रकम पनि चाँडै तिर्ने तयारीमा रहेको बताए ।
रासस