नेप्सेमा चार अङ्कले गिरावट

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ११:५२ मा प्रकाशित

 nepseकाठमाण्डु, ६ मंसिर– गत साता १४.३७ अङ्कले घटेको नेप्सेमा यो साता निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन ।

यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.६६ अङ्कले घटेर अन्तिम दिन ८६२.५ अङ्कमा पुगेको छ ।

गत साताको अन्तिम दिन ८८१.०४ अङ्कमा पुगेको नेप्से अघिल्लो साता १६.३८ अङ्कले घटेर अन्तिम दिन ९०४.९२ अङ्कमा पुगेको थियो । विगत चार महिनादेखि नेप्सेमा निरन्तर ओरालो लागिरहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीको १० हजार १२१ कारोबारबाट रु एक अर्ब १३ करोड एक लाख ५१ हजारबराबरका २५ लाख ४९ हजार ४३० कित्ता सेयर खरिद बिक्री भएका छन्

कारोबार रकम गत साताको भन्दा ४.४ प्रतिशत कम हो । गत साता पनि १६७ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १० हजार ८९९ कारोबारबाट रु एक अर्ब १८ करोड ३० लाख ८१ हजार बराबरका २९ लाख ३७ हजार १९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.७४ अङ्कले घटेर १८४.१६ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्याका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यो साता कालिञ्चोक विकास बैंकको रु १० लाख साधारण सेयर कित्ता सेयर धितोपत्रमा सूचीकृत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us