सार्कका लागि आज काठमाण्डुमा विशेष सरसफाइ

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ३:११ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औँ शिखर सम्मेलनको पूर्वतयारीको सिलसिलामा आज विशेष सरसफाइ कार्यक्रम सुरु गरिएको छ ।

काठमाण्डु महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका सबै वडाका मुख्य चोकमा सरसफाइ सुरु गरिएको हो । नयाँ बानेश्वरस्थित संविधानसभा भवन परिसर अगाडिबाट उपप्रधानमन्त्री प्रकाशमान सिंहले सो अभियानको शुभारम्भ गर्दै उनले सम्मेलन देशकै प्रतिष्ठाको विषय भएकाले आफ्नो सहरलाई सफा राख्नुपर्ने बताए ।

‘सहर सफा राख्नामा सरकार र महानगरपालिकाको मात्र नभई सबै नगरबासीको जिम्मेवारी हो, यो अभियानलाई देशैभर लैजाने सरकारको कार्यक्रम छ’, उनले भने ।

महानगरपालिका– १० र ३४ मा भएको विशेष कार्यक्रममा निजामती कर्मचारी, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, महिला समूह, स्वास्थ्यकर्मी, स्काउटका प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता रहेको छ । नयाँ बानेश्वर चोकदेखि शंखमूल, बुद्धनगर, बिजुलीबजार, पुरानो बानेश्वर चोक र आसपासका क्षेत्रहरुमा सरसफाइ गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us