सार्क तयारीका लागि भयो दुई अर्ब रूपैँया निकासा

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ९:३३ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– सार्क सम्मेलनको भौतिक तथा प्रशासनिक तयारी गर्न विभिन्न मन्त्रालयबाट दुई अर्ब रूपैंया निकासा दिइएको छ ।

SAARC
अर्थ मन्त्रालयका अनुसार खर्चको प्रकृति तथा जिम्मेवारीका आधारमा विभिन्न मन्त्रालयको मागअनुसार अधिकांश रकमको भुक्तानी भइसकेको र प्रचलित कानुनअनुसार खर्च गर्ने अख्तियारीसहित निकासा भइसकेको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई सबैभन्दा बढी रु ७८ करोड ३५ लाख निकासा दिइसकेको अर्थमन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले जानकारी दिए । सम्मेलनमा प्रयोग हुने सडक तथा पूर्वाधारको मर्मत र सम्भारको जिम्मेवारी पाएको सो मन्त्रालयलाई उक्त रकम निकासा दिइएको हो ।

देवकोटाका अनुसार सार्क सदस्य राष्ट्रबाट नेपाल आउने विशिष्ट पाहुनाको सुरक्षाको जिम्मेवारी पाएको गृह मन्त्रालयलाई रु ३८ करोड ५० लाख, सजावट तथा मर्मत गर्नका लागि सहरी विकास मन्त्रालयलाई रु २५ करोड ४१ लाख र सार्क सम्मेलनको संयोजन गर्न परराष्ट्र मन्त्रालयलाई रु २० करोड १० लाख निकासा दिइएको छ ।

त्यसैगरी सुरक्षा व्यवस्थामा सहयोग पु¥याउन रक्षा मन्त्रालयलाई अर्थमन्त्रालयले रु १२ करोड ६३ लाख, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पूर्वाधार विकास तथा सजावटका लागि रु आठ करोड ४६ लाख, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई रु तीन करोड दुई लाख र सूचना तथा सञ्चार मन्त्रालयलाई रु एक कारोड ९७ लाख निकासा गरिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले सार्क शिखर सम्मेलनमा हुने मुख्य गतिविधिका सम्पूर्ण सूचना प्रवाह गर्नेछ भने अन्य मन्त्रालयले सम्मेलनका दौरान आ–आफ्नो जिम्मेवारी पूरा गर्नेछ । पूर्वाधार विकास तथा सजावटमा काठमाडौँ महानगरपालिकाले पनि आफ्नो आन्तरिक स्रोतबाट खर्च गरेको छ ।

महानगरपालिकाले सरसफाइ तथा सजावटलाई विशेष प्राथमिकता दिएको छ । निश्चित रकम त्यसैगरी अन्य मन्त्रालय तथा सरकारी निकायलाई रु १२ करोडभन्दा बढी रकम निकासा भएको जनाइएको छ ।

सरकारले दुई अर्बभन्दा बढी रकम सार्क सम्मेलनकै लागि भनेर निकासा दिइसकेको छ । सरकारले सार्क सम्मेलनका लागि निकासा गराएको रकम सार्क सम्मेलन पूर्व नै खर्च गरिसक्नुपर्नेछ ।

सरकारले सार्क सम्मेलनको तयारीका लागि भनेर आर्थिक वर्ष २०७१÷०७२ को वार्षिक बजेटमा रु एक अर्व ५० करोड रकम छुट्याएको भए पनि आवश्यकताअनुसार अपुग हुने रकम अर्थमन्त्रालयले अन्य स्रोतबाट जुटाएको हो ।

अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले सम्मेलनका लागि आर्थिक कारणले कुनै पनि समस्या आउन नदिने अर्थमन्त्रालयको प्रतिबद्धताअनुसार जिम्मेवारीको आधारमा रकम निकासा गराइएको हो । मन्त्रालयका प्रवक्ता देवकोटाले आर्थिक अभावका कारण सार्क सम्मेलनको कुनै पनि गतिविधिमा बाधा नआउने स्पष्ट पारे ।

मंसिर १० र ११ गते काठमाडौँमा हुने सार्क सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सदस्य राष्ट्रका राष्ट्रप्रमुखसहित विशिष्ट पाहुनाको आतिथ्यका लागि सबै तयारी पूरा भएको जनाइएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us