४३ सभासदको हस्ताक्षर बाबुरामलाई बुझाएकामा सुशील रामचन्द्रसँग फायर

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १:५८ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– संवाद समितिको बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सोमबार बुझाएको कांग्रेस–एमालेका ४३ सभासद्को हस्ताक्षरबाट प्रधानमन्त्री सुशील कोइराला असन्तुष्ट रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताएका छन् ।

एमाओवादी र मधेस केन्द्रित दलहरुसहित २० दलको बैठकमा गच्छदारले कोइरालालाई उद्धृत गर्दै भने, ‘रामचन्द्र पौडेलले पढनमात्र पठाएको पत्रमा हस्ताक्षरसमेत समावेशगरी सभापतिलाई बुझाएछन् ।

बहुमत सभासद्हरुको हस्ताक्षरले गर्दा संवाद समितिमा मात्र नभएर संविधान निर्माणमै डेडलक भयो, यो काम ठीक भएन ।’

संवाद समितिको बैठकमा बुझाएको हस्ताक्षरसहितको पत्रप्रति कांग्रेसकै असन्तुष्टि रहेको केही शीर्ष नेतालेसमेत बताएका छन् । ‘प्रधानमन्त्रीले त्यसपछि गरेका औपचारिक कुराकानीले उहाँ र कांग्रेसको असन्तुष्टि प्रमाणित गर्छ’, एक नेताले भने ।

स्रोतकाअनुसार सहमतिको अन्तिम प्रयास बाँकी रहँदै पौडेलले गरेको विधि र व्यवहार उचित नभएको तथा हस्ताक्षरका कारण विवाद स्वभाविक रहेको प्रधानमन्त्रीले शीर्ष नेताहरुसँग बताउन थालेका छन् ।

सोमबार संवाद समिति दोस्रो पटक बस्नुअघि प्रधानमन्त्रीसहित तीन दल बैठकमा हस्ताक्षरसहितको पत्र पेस नर्गने सहमति भएको स्रोतले बतायो ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us