
कााठमाण्डु – श्रीलंकामा बुधबारदेखि शुरु भएको नेपाल र हङकङबीचको टी-ट्वान्टी शृंखलाको पहिलो खेल पानीका कारण राेकिएकाे छ। श्रीलंकाको रनगिरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, दाम्बुलामा श्रीलंकन समय अनुसार बिहान १० बजे सुरु हुनुपर्ने खेल लगातार वर्षाका कारण अवरुद्ध भएको हो।
खेल सुरु हुनुपूर्व नै दाम्बुलामा पानी परिरहेको थियो। १२ बजेतिर पानी केही समयका लागि रोकिएपछि मैदान सुकाउन ‘सोकर’को प्रयोग गरिएको थियो। तर पानी पर्ने र रोकिने क्रम चलिरह्यो। पानीका कारण मैदान हिलो भएपछि खेल रोकियो।
नेपालले हङकङसँग तीन टी-ट्वान्टी र एक एकदिवसीय खेल खेल्ने कार्यक्रम छ। यसअघि नेपालले श्रीलंकन कम्बाइन ११ सँग दुईवटा तीनदिवसीय क्रिकेट खेलेको थियो। जसमा एक खेल कम्बाइन ११ ले जितेको थियो भने दोस्रो खेल पनि वर्षाका कारण बराबरीमा रोकिएको थियो।