
म्याग्दी , २९ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–४ खबरा गाउँका बासिन्दाले व्यावसायिक तरकारीखेती र पशुपालन व्यवसायलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् ।
पहिले निर्वाहमुखी कृषि पेसा अपनाउँदै आएका खबरावासीले तरकारीखेती र पशुपालनलाई आफ्नो मुख्य आयस्रोत बनाएका हुन् । चार-पाँच वर्ष पहिलेसम्म हिउँदेबाली खेती गर्ने त्यहाँका बासिन्दाको खेतबारीमा अहिले मौसमी र बेमौसमी तरकारीखेती उत्पादन हुन थालेको छ ।
खबरामा बसोवास गर्ने करिब १०० घरपरिवारले व्यावसायिक तरकारीखेती र पशुपालनलाई मुख्य आयस्रोत बनाएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनीहरूले हिउँदे बाली लगाउने खेतबारीमा बन्दा, काउली, धनियाँ, साग, आलु, गोलभेँडा, प्याज, लसुनलगायतका तरकारी उत्पादन गरेर राम्रो आम्दानी पनि गरिरहेका छन् ।
‘अन्नबाली खेती गर्दा घरमा उपभोग गर्नका लागि तरकारी किन्न बजार जाने गथ्र्यौँ, तरकारीखेती गर्न थालेपछि नगद बचत त भएको छ नै आयआर्जन पनि भएको छ ’, कृषक तारा कुँवरले बताइन् ।
करिब चार रोपनी खेतमा तरकारीखेती गरेकी मीना कुँवरले मासिक रु दुईदेखि पाँच हजारसम्म आम्दानी हुने गरेको बताएकी छन् । तरकारी खेतीबाट भएको आम्दानीले घरखर्च चलाउन सजिलो हुनुका साथै बालबच्चाको पढाइमा पनि लगानी गर्ने गरेको स्थानीयवासी बताउँछन् । पुरुषको तुलनामा धेरै महिलाले तरकारीखेती गरेका छन् ।
त्यसैगरी सो गाउँका बासिन्दाले पशुपालन गरेर कृषकले दैनिक तीनदेखि १० लिटरसम्म दूध बिक्री गरेको जानकारी दिएका छन् । त्यहाँका १० जनाभन्दा बढी युवाले व्यावसायिक कुखुरापालन पनि गरेका छन् ।
खबरामा उत्पादित तरकारी र दूध सदरमुकाम बेनी बजारमा खपत हुन्छ । रासस