ग्यासमा खुलेआम कालोबजारी

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ११:२१ मा प्रकाशित

प्युठान, २८ कात्तिक – जिल्लामा खाना पकाउने एलपी ग्यासमा खुलेआम कालोबजारी हुँदा उपभोक्ता मर्कामा परेका छन् ।

Lpg-Gass-288x300नेपाल आयल निगमले निर्धारण गरेको मूल्यभन्दा धेरै मूल्य तिर्नुपर्दा जिल्लाका उपभोक्ता मर्कामा परेका हुन् । निर्धारित मूल्यभन्दा १३० देखि १८० सम्म मूल्य बढी लिएपनि सम्बन्धित निकायले खुलेआम भएको कालोबजारी रोक्नका लागि ठोस कार्य गरेको छैन ।

सरकारले एलपी ग्यासमा एक हजार ४७० निर्धारण गरेको छ । उक्त निर्धारित मूल्यमा उपभोक्ताले सबै स्थानमा ग्यास पाउनुपर्ने भए पनि ढुवानी तथा अनलोड खर्च भन्दै धेरै लिने गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘ग्यासमा भएको कालोबजारी रोक्न सरोकारवाला तथा व्यवसायीबीचमा छलफलसमेत गराएका छौँ ।’ उनले भने– “ग्यासमा भएको कालोबजारीको अवस्थाका बारेमा छानबिन गरी प्रतिवेदन बुझाउन अनुगमन अधिकृतको संयोजनमा समिति गठन गरेका छाँै ।”

जिल्लामा ग्यासको ढुवानी मूल्य पनि व्यापारीसँग फरक–फरक रहेको छ । जिल्लामा ग्यासको आधिकारिक डिलर नहुनु र बिक्रेता भए पनि ग्यास कम्पनीले ढुवानी खर्च नदिने गरेकाले अतिरिक्त मूल्य लिनुपरेको सदरमुकाम खलङ्गामा ग्यास बिक्री गर्दै आउनुभएका जननाथ श्रेष्ठले बताउनुभयो । जिल्लामा मुख्य ग्यास बिक्रेताको रुपमा रहेको राप्ती ग्यासको डिलर कक्षपति टे«ड्स बाग्दुलाले रु एक हजार ५६० लिने गरेका छन् ।

त्यस्तै यहाँ पाइनेभन्दा १० बढी बिजुवारमा लिने गरिएको छ । यसको सदरमुकाममा आउँदा ढुवानी खर्च भनी अतिरिक्त मूल्य लगाई रु एक हजार ६५० मा बिक्री गर्ने गरेका छन् । यससँगै जिल्लामा एक ग्यासका उपभोक्ताले अर्को ग्यास खरिद गर्दा थप २०० तिर्नुपर्छ ।

जिल्लामा व्यापारीले मूल्यमा एकरुपता नगर्ने तथा ग्यासमा खुलेआम कालोबजारी गर्दासमेत प्रशासनले हालसम्म ठोस कदम चाल्न सकेको छैन । यसभन्दा अगाडि प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायले यसलाई रोक्नका लागि पहल गरे पनि हालसम्म रोक्न सकेका छैनन् ।

बजारमा भएको कालोबजारी रोक्नका लागि कुनै पहल नभएको भन्दै खलङ्गाका कृष्ण पुनले सम्बन्धित निकायले चासो नदिँदा आफूहरु मर्कामा परेको बताए । उनले सम्बन्धित निकायले अनुगमन र कालोबजारीलाई कारबाही नगर्दासम्म समस्या समाधान नहुने उल्लेख गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us