श्रमको मूल्य नपाएपछि अदुवा कृषक चिन्तित

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ११:४३ मा प्रकाशित

पाँचथर, २७ कात्तिक – यस वर्ष मौसममा समेत अदुवाले भाउ नपाएपछि सुदूरपूर्वी जिल्ला पाँचथरका कृषक चिन्तित भएका छन् ।

gingerगत वर्ष यतिबेला अदुवा किन्न घरघरमै आउने व्यापारी अहिले भने गाउँ नै पसेका छैनन् । कात्तिकको पहिलो हप्ताबाट नै अदुवाको कारोबार सुरु हुने भए पनि अहिले भने यो महिना बित्न लाग्दासमेत अदुवा खरिद गर्न व्यापारी नआएका हुन् ।

भाडामा लिएरसमेत अदुवाखेती गरेका कृषक अहिले भाउ नपाएपछि अदुवासमेत ननिकाली बसेका छन् । जिल्लाको दक्षिणी गाविस सराङडाँडा–५ का भक्त चौहानले भने, ‘गत वर्ष मौसमको समयमा घरघर आएर अदुवा खरिद गरेका व्यापारी यस वर्ष भने मध्य मौसममा समेत आएका छैनन् र कारोबार सुरु भएको छैन् ।’

गत वर्ष मौसमको समयमा र बीउ राप्ने बेलामा अदुवा प्रतिमन चार हजार भए पनि अहिले भने एक हजार ५०० मा मात्रै छिमेकी इलाम जिल्लामा बिक्री भएको अदुवा कृषक चौहानले बताए ।

धानखेतीबाट फाइदा नभएपछि अदुवाखेतीतर्फ आकर्षित भएका कृषक अदुवाको समेत भाउ नपाएपछि चिन्तित देखिएका हुन् । यता व्यापारीले भने देशमा उत्पादन हुने अदुवा भारततर्फ नै निर्यात हुने भएकाले अहिले भाउ नआएकाले अदुवा खरिद गर्न नसकेको बताउने गर्दछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us