पाटन सङ्ग्रहालय घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ११:३९ मा प्रकाशित

ललितपुर, २६ कात्तिक – पाटन सङ्ग्रहालय घुम्न आउने पर्यटकको सङ्ख्यामा पछिल्लो तीन महिनामा १८ प्रतिशतले वृद्धि भएको छ ।

Nepal-Patan-Durbar-Squareपाटन सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेका अनुसार गत वैशाख महिनाबाट मूलचोक र सुन्दरीचोकसमेत सर्वसाधारणका लागि खुल्ला गरिएकाले घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको हो ।

साउन, भदौ र असोज महिनामा सङ्ग्रहालयमा आएका आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या २२ हजार ११८ जना रहका छन् भने आएका ती पर्यटकबाट रु २९ लाख १० हजार २०० आम्दानी भएको छ ।

गत वर्ष यही समयमा सङ्ग्रहालय घुम्नका लागि आन्तरिक र बाह्य गरी १६ हजार ९८१ जना पर्यटक आएका थिए । आएका पर्यटकबाट रु ११ लाख २६ हजार ५० आम्दानी भएको थियो ।

गत वैशाखबाट सङ्ग्रहालय प्रवेशका लागि विदेशीका लागि रु ४००, विदेशी विद्यार्थीको लागि रु ३००, सार्क राष्ट्रको लागि रु २५०, नेपालीको लागि रु ३० निर्धारण गरी शुल्कमा वृद्धि गरेको छ ।

अहिले दैनिक सङ्ग्रहालय अवलोकनका लागि विदेशी २५० देखि ३०० जना र आन्तरिक पर्यटक पनि त्यही हाराहारीमा आउने गरेको बताइएको छ । गत वर्षसम्म प्रवेश शुल्क विदेशीका लागि रु २५०, विदेशी विद्यार्थीको लागि रु २००, सार्कको लागि रु १५० र रु २० रहेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us