
काठमाण्डु, २५ कात्तिक – औद्योगिक विकासका लागि हरसंभव प्रयत्न जारी राखेको जनाउँदै सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई निर्धक्क भएर नेपालमा पुँजी परिचालन गर्न आह्वान गरेको छ ।
संविधानसभा निर्वाचनसँगै नयाँ सरकार गठन भएयता सरकारीस्तरमा उद्योगमैत्री वातावरण बनाउन लागिपरेको सरकारले उद्यमी–व्यवसायीका समस्या समाधान गर्दै देशका उद्योगधन्दालाई संरक्षण गर्ने नीति अङ्गिकार गरेको स्पष्ट पारेको छ ।
सरकार, नेपाल उद्योग परिसङ्घ, बहुपक्षीय अन्तर्राष्ट्रिय निकाय र नेपालको विकासका साझेदारहरूको सहयोगमा पहिलोपटक राजधानीमा आयोजना गरिएको पूर्वाधार सम्मेलनको दोस्रो अनौपचारिक सत्रमा उद्योगमन्त्री महेश बस्नेतले उद्योगधन्दा स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकताका साथ सरकारले अघि बढाएको जानकारी दिँदै त्यसमा निजी क्षेत्रसँगको सहकार्य वृद्धि गर्न नीतिगत व्यवस्था गरिएको बताए ।
‘सामाजिक आर्थिक विकासका लागि दिगो पूर्वाधार विकास’ शीर्षकमा भएको छलफल कार्यक्रममा उनले सडक, बिजुलीजस्ता आधारभूत पूर्वाधारका संरचना निर्माण गर्न सार्वजनिक–साझेदारी नीति लिएको र त्यसलाई अक्षरसः कार्यान्वयन गर्न सरकार दृढ रहेको प्रष्ट््याउँदै सुशासनसहितको प्रशासनबाट देशलाई औद्योगिक विकासको बाटोमा अघि बढाउन निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीम वाग्लेले सामाजिक– आर्थिक विकासका लागि भौतिक पूर्वाधार निर्माण अत्यावश्यक भएकाले त्यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औल्याए । उनले भने – ‘द्वन्द्वोत्तर नेपालको पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगको पनि नेपालले अपेक्षा गरेको छ । निजी क्षेत्रको र बाह्य लगानी पनि उत्तिकै आवश्यक छ ।’
एसियाली विकास बैंकका देशीय निर्देशक केनिची योकोयामाले विमानस्थल, यातायात व्यवस्था, जलविद्युत्, सडकलगायत पूर्वाधारको अभावमा नेपाल प्रगतिपथमा उन्मुख हुन नसकेको विचार व्यक्त गर्दै जलविद्युत् विकासबाटै नेपालले आर्थिक समृद्धि हासिल गर्ने बताए ।
छलफलमा पूर्वसचिवद्वय पूर्णप्रसाद कडरिया र कृष्ण ज्ञवालीले पूर्वाधार निर्माणमा सरकारले निर्धारण गरेका प्राथमिकता, तिनको कार्यान्वयनमा झेल्नु परेका समस्या, ती क्षेत्रमा राजनीतिक नेतृत्वबाट अपेक्षाकृत कम ध्यानले विकासका विषय ओझेलमा परेझै आफूहरूलाई लागेको बताए ।
प्रधानमन्त्री सुशील कोइरालाले केही समयअघि आजै सम्मेलनको उद्घाटन गरेका थिए । रासस