भारु ५ सय र हजारका नोट खोल्ने तयारी

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ३:३२ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक- ५ सय र हजार दरका भारतीय नोट नेपालमा खुला गर्ने तयारी भएको छ । भारतीय कानुनमा संशोधन गरेर नेपालमा यी दरका नोट खुला गर्ने तयारी भएको हो ।

भारतको विदेशी विनिमय नियमन ऐनका कारण नेपालमा १ सयभन्दा माथि नोट चलाउन नमिलेको हो । जस अनुसार नेपालमा राष्ट्र बैंकले उक्त नोट प्रयोगमा रोक लगाएको छ ।

भारतले पछिल्लो समय उक्त ऐनमा केही संशोधन गरेर नोट प्रयोग खुला गर्न लागेको हो । तर पहिलो चरणमा भने भारतीय नागरिकले मात्र ५ सय र हजारका नोट नेपालमा प्रयोग गर्न पाउने देखिएको छ ।

‘भारतीय रिजर्ब बैंकका अधिकारीले आफ्ना नागरिकका लागि मात्र खुला हुन लागेको र सबैलाई खुला गर्न केही समय लाग्ने बताएका छन्’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

नेपाल र भुटानमा यी दरका नोट खुला गर्ने तयारी रहेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले पनि उल्लेख गरेको छ । ‘सैद्धान्तिक रूपमा यस विषयमा सहमति जुटिसकेको र प्रधानमन्त्रीले धारणा राखेपछि घोषणा हुने’ उक्त पत्रिकाले उल्लेख गरेको छ ।

यी दरका नोट खुला गर्न दुवै सरकार र केन्द्रीय बैंकबीच छलफल भएको छ । तर भारतले कानुनमा संशोधन गरेपछि मात्र खुल्ने भएकाले नेपाली पक्षलाई सबै जानकारी भने छैन । आउँदो सार्क सम्मेलनका समयमा क्षेत्रीय चासोको यो विषयमा पनि निर्णय हुनसक्ने सम्भावना छ । ‘पछिल्लो समय यो विषयमा घटनाक्रम विकास भएका छन्’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर स्पष्ट भने भइसकेको होइन ।’

लामो समयदेखि नेपालले यी दरका नोट खुला गर्न माग गरिरहेको थियो । विशेषगरी रोजगारीका लागि भारत जाने नेपाली कामदारलाई ठूला नोट नचल्ने समस्या छ । सीमाबाट ठूला नोट ल्याउन नपाउने र लुकाएर ल्याए पनि चलाउन नपाउने हुँदा समस्या भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us