विघटित क्यानका पदाधिकारीले सरकारलाई देखाइदिने, अदालत जाने तयारी

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १५:१५ मा प्रकाशित

can-cricketकाठमाण्डु, २१ कात्तिक- सरकारद्वारा विघटित नेपाल क्रिकेट संघ ‘क्यान’ का पदाधिकारी र सदस्यहरु अदालत जाने भएका छन् ।

विघटित क्यानका सदस्य एवम् प्रवक्ता दीपक साउदका तर्फबाट शुक्रबार जारी गरिएको विज्ञप्तिमा सरकारको गैरकानुनी तथा गैरलोकतान्त्रिक निर्णय बदर गराउन माग गर्दै कानुनी उपचारको बाटो अवलम्वन गर्ने उल्लेख छ ।

विज्ञप्तिमा सरकारको निर्णयप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र मर्माहत भएको बताइएको छ । संघको निर्वाचित कार्यसमिति विघटन गरेर सरकारले खेलकुद विकास ऐन– २०४८ र नियम– २०४९ तथा कानुनी राज्य र कानुनी व्यवस्थाको मर्म र भावनाविपरीत काम गरेको ठहर संघको छ ।

उक्त निर्णयबाट  क्रिकेट खेलको विकासलाई पछाडि धकेलिएको ठहर उनीहरुको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्यान विघटन गर्दै विनयराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us