
नवलपरासी, २१ कात्तिक – पाल्ही गाविस–२ का रवीन्द्रकुमार सहानीले माछापालन गरेर वार्षिक आठ लाख आम्दानी गरेका छन् ।
माछापालनका लागि उनले सहानी मस्य ह्याचरी कम्पनी सञ्चालन गरी माछापालन गर्दै आएका छन् । ‘अहिले दुई करोड ६५ लाख मात्र माछाको भुरा उत्पादन गर्न सक्यो’, उनले भने ‘गत वर्ष तीन करोड ६४ लाख माछाका भुरा बिक्री भएका थिए ।’ समयमा पानी नपर्दा पोखरीमा पानी जम्मा हुन नपाएकाले यस वर्ष माछाको भुरा कम उत्पादन भएकाले सबै खर्च कटाएर पाँच लाख आम्दानी गरेको उनले बताए ।
भैरहवा मत्स्य विकास केन्द्रको सहयोगमा ह्याचरी खेलेपछि माछापालक किसानलाई पनि सहज भएको छ । उनले ह्याचरी खोल्नुभन्दा पहिले किसान बाहिर जान्थे । तर, अहिले यो समस्या टरेको छ । उनी भन्छन्, ‘यही व्यवसायबाट घरखर्च चलेको छ, आठ जना युवालाई रोजगारी दिएको छु ।’ पैसा कमाउन अन्त जानु पर्दैन, उनले भने ।
यहाँ उत्पादन भएको माछा भारतसमेत निर्यात हुन्छ । उनले भने, ‘गत वर्षमात्र एक करोड ५० लाख माछाका भुरा भारत निर्यात भएका छन्, यस वर्ष पनि भारतकै किसानले लगेका छन् ।’
ह्याचरीका लागि तीन बिगाहा क्षेत्रफलमा १३ वटा भुराका लागि पोखरी बनाएका छन् । चार बिगाहाको उत्पादन पोखरी र १५ कट्ठाको दुई वटा माउ पोखरी रहेका छन् ।
पोखरीमा कामन, बिगहेट, ग्रास, सिल्भर, नैनी, भ्याकुरलगायत २०० माउ माछा रहेका छन् । रासस