काठमाण्डु, २० कात्तिक– पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन्. ।
साताव्यापी भ्रमणका लागि ज्ञानेन्द्र शुक्रबार दिल्ली जान लागेको उनको निजी सचिवालयले जनाएको छ । खुमबहादुर खड्काको नेतृत्वमा काँग्रेसको एउटा खेमाले हिन्दू राष्ट्रका पक्षमा आन्दोलनको तयारी गरिरहेका बेला हुन लागेको उनको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खड्काको अभियानबाट ज्ञानेन्द्र उत्साहित भएको स्रोतहरु बताउँछन् । मिलेर गणतन्त्र ल्याएका प्रमुख राजनीतिक दलबीच तिक्तता बढेर संविधान बन्ने कि नबन्ने भन्ने अन्यौलता बढेका बेला हुन लागेको ज्ञानेन्द्रको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनले भारतमा राजनीतिक भेटघाट गर्ने तयारी भए पनि कस–कसलाई भेट्ने छन् भन्ने गोप्य राखिएको छ । स्रोतका अनुसार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने इच्छा राखेका छन् । त्यसका लागि कोसिस जारी रहे पनि नमिलेको नागार्जुन स्रोत बताउँछ ।
यसअघि उनले मोदी नेपाल भ्रमणमा आउँदा पनि भेट्न खोजेका थिए । तर, अनेकथरि आशंका हुने भन्दै मोदीले त्यतिबेला भेट्न मानेका थिएनन् । मोदी ज्ञानेन्द्र भेट्न इच्छुक भए पनि उक्त विषय बाहिर आउन सक्ने आशंकाका कारण भेटमा ढिलाइ भइरहेको स्रोतको दाबी छ ।
मोदीको पार्टी भाजपा नेपालमा हिन्दू राष्ट्र कायम हुनुपर्ने लाइनमा छ । मोदीले पनि यसअघि नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताउँदै आएका थिए । तर, प्रधानन्त्री भएपछि कुटनीतिक सम्बन्धमा आँच आउने भन्दै त्यसबारे केही बोलेका छैनन् ।