काठमाण्डु, २० कात्तिक– पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा देखिएको राजनीतिक वैचारिक र संगठनात्मक टक्करले नेकपा–माओवादी विभाजनउन्मुख देखिएको छ ।
संस्थापन पक्षले अस्वीकार गरे पनि विप्लव समूहले आफ्नै संगठनात्मक संरचना तयार गरेर ‘सशस्त्र संघर्ष’को तयारी थालेको छ । १८ कात्तिकको राति विप्लव समूहले देशभर वालपेन्टिङ गरेर ‘एकीकृत क्रान्तिको सिद्धान्त’लाई पूर्णता दिने प्रचारात्मक संघर्ष सुरु गरिसकेको छ ।
‘कात्तिक १८ गते हाम्रो लागि ऐतिहासिक दिन हो,’ विप्लवपक्षीय एक नेताले भने, ‘०५२ फागुनमा जनयुद्ध थाल्नुपूर्व पनि यस्तै अभ्यास भएको थियो ।’ मंगलबार राति ‘नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिउँ, एकीकृत क्रान्तिको सिद्दान्त जिन्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद’ जस्ता नारासहित वालपेन्टिङ गरिएको छ । ७५ वटै जिल्लामा वालपेन्टिङ भएको ती नेताले बताए ।
१८ असारदेखि ५ साउनसम्मको केन्द्रीय समिति बैठकमा सचिव विप्लवले ‘यथास्थितिमा क्रमभंगता, इतिहासको अपरिहार्य आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव पेस गर्दै पार्टीलाई क्रमस: भूमिगत बनाउने, सेना निर्माण थाल्ने र संविधान निर्माण प्रक्रियालाई बिथोल्ने प्रस्ताव गरेका थिए ।
एकीकृत क्रान्तिको सिद्धान्तमा नियमित सेनासहितको विद्रोहलाई पूर्णता दिने अभियान सुरु भएको विप्लवपक्षीय एक केन्द्रीय सदस्यले बताए । संस्थापन पक्षले भने अहिले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशा अगाडि सारेको छ ।
नयाँ पत्रिकाबाट